• ७ जेठ २०८१, सोमबार

भूकम्प पीडित सुत्केरीलाई आर्थिक सहयोग

blog

सुत्केरीलाई आर्थिक सहयोग प्रदान गर्नुहुँदै पत्रकार महासङ्घ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी । तस्बिर: गाेरखापत्र

राजु लामिछाने

रुकुम पश्चिम, मङ्सिर १९ गते । भूकम्पको कारण यति बेला सबैभन्दा बढी बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिला प्रत्यक्ष मारका परेका छन् । त्रिपालमुनि बसिरहेका भूकम्प पीडितहरूको स्वास्थ्य हिउँदे वर्षाको कारण थप जोखिममा परेको छ । 

यस्तो बेला रुकुम पश्चिमका दुई जना सुत्केरीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । जिल्लाको आठबिसकोट नगरपालिका १४ की १८ वर्षीया कल्पना बिक र सानीभेरी गाउँपालिका वडा नम्बर ४ निवासी २६ वर्षीया माया घर्ती ओलीलाई सहयोग उपलब्ध गराइएको हो । 

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (फ्रान्स) ले दुई जना सुत्केरीलाई जनही ५८ हजार पाँच सयका दरले एक लाख १७ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । समाजका युरोप क्षेत्रीय समितिका संयोजक प्रकाश तिवारीका अनुसार तिहार धमाकाको अवसरमा हरेक वर्ष गरिने कार्यक्रम स्थगित गरेर भूकम्प प्रभावित सुत्केरीलाई सहयोग गरिएको हो । 

समाजका अध्यक्ष आभास आचार्यले विपद्को बेला जोखिममा रहेका सुत्केरीहरूलाई आवश्यक राहत तथा स्वास्थ्य सामाग्री खरिदमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरिएको बताउनुभयो । उहाँका अनुसार चिसो मौसममा सुत्केरीहरूको स्वास्थ्यमा थप समस्या नआओस् भनेर सहयोग गरिएको हो । 

कल्पनाको १९ दिने छोरा रहिस् बिकको भूकम्प परेर मृत्यु भएको थियो । शल्यक्रिया गरेर छोरालाई जन्म दिनुभएकी उहाँ भूकम्पमा परेर घाइते समेत हुनुभएको थियो । त्यसै गरी मायाको श्रीमान् पूर्ण र छोरा प्रणवको पनि भूकम्पकै कारण मृत्यु भएको थियो । काखमा रहेकी छोरीलाई भूकम्पबाट जोगाउन सफल मायाको घर र जाजरकोटको रिम्ना बजारमा सञ्चालित व्यवसाय ध्वस्त भएको छ । 

दुवै जना पीडितहरू अहिले त्रिपालमुनि बसिरहनु भएको छ । भूकम्पले सन्तान गुमाउनुभएका उहाँहरू मानसिक रूपमा समेत विक्षिप्त हुनुहुन्छ । पत्रकार महासङ्घ रुकुम पश्चिमका जिल्ला अध्यक्ष लक्ष्मण केसी मार्फत पीडितहरूको घरमा गएर उक्त रकम उपलब्ध गराइएको हो । सहयोग रकम हस्तान्तरणमा सानीभेरी गाउँपालिका ४ का वडा अध्यक्ष मनोज बुढाथोकी, जाजरकोटको रिम्ना प्रहरी चौकीका निमित्त प्रमुख शेरबहादुर चन्द, घेत्मा स्वास्थ्य चौकीका प्रमुख देव बहादुर चन्द लगायतको उपस्थिति रहेको थियो ।