• १२ साउन २०८१, शनिबार

‘पौड्यालले इन्डियन आइडल जित्ने सम्भावना छ’

blog

बलिउड गायक विनीत सिंह शनिबार क्लब प्लेटिनममा आयोजना भएको ‘विनीत सिंह लाइभ इन नेपाल’ नामक साङ्गीतिक कन्सर्टमा सहभागी हुन नेपाल आउनुभएको थियो । कन्सर्टका क्रममा उहाँले आफ्ना लोकप्रिय गीतहरू ‘तेरा प्यार हुक्का मार’, ‘जलते दिए’, ‘प्रेम लीला’, ‘खेलाडी भैया’ बोलका गीतहरू गाउनुभयो । गीत सङ्गीतको सेरोफेरोमा रहेर गोरखापत्रका लागि सुकृत नेपालले उहाँसँग गर्नुभएको कुराकानी : 

यहाँको काठमाडौँको कन्सर्ट कस्तो रह्यो ? 

एकदमै राम्रो । मेरो लागि स्मरणीय समय थियो । मेरो पहिलो नेपाल भ्रमण भएकाले पनि दर्शकको उत्साहजनक प्रतिक्रिया र भिडको मैले कल्पना गरेको थिइनँ । साँच्चै नै यहाँका दर्शकको ऊर्जाले मलाई फेरि नेपाल आउने निम्तो दिएको छ । भारतीय दर्शकभन्दा नेपाली दर्शकको भिडले मलाई अचम्भित बनाएको छ । 

सानो उमेरमै गायन क्षेत्रमा लाग्नुभयो है ? 

मैले पाँच वर्षको उमेरदेखि गीत गाउन र आठ वर्षको उमेरमा स्टेज सोहरू गर्न थालेको हो । त्यसपछि १६ वर्षको उमेरमा मैले आफ्नो पहिलो रियालिटी सो गरेँ । यसबाट मैले धेरै चर्चा पाएँ । धेरै दर्शक माझ म चिनिन सफल भएँ । मैले सानो उमेरमा नै बलिउड चलचित्रमा गीत गाउने मौका पाएँ । बलिउड कलाकार जायद खान अभिनीत चलचित्र रक्कीको ‘दिल रङ्गले’ बोलको गीत मेरो पहिलो गीत थियो । यही गीतबाट बलिउडमा मेरो प्रवेश भएको थियो । 

आफूले गाएका गीतमध्ये सबैभन्दा मन परेका गीतहरूका बारे भन्नुपर्दा ?

मलाई पनि मन पर्ने र दर्शकले पनि धेरै रुचाएको चलचित्र ‘खेलाडी ७८६’ को गीत ‘हुक्का मार’, त्यस्तै चलचित्र ‘प्रेम रतन धन पायो’ को ‘सुनते है जब प्यार हो तो’, ‘खेलाडी ७८६’ को टाइटल गीत ‘खेलाडी भैया खेलाडी’ यही गीतहरूले मलाई चिनाउने काम पनि ग¥यो र मलाई यी गीत निकै मन पर्छन् ।  

रियालिटी सो ‘सा रे ग म पा’, ‘जो जीता वही सुपरस्टार’ र ‘इन्डियन आइडल १३’ को फस्र्ट रनरअप पनि बन्नुभयो, कस्तो अनुभूति भयो ?   

मैले तीन वटा गायन रियालिटी सोमा भाग लिएको थिएँ र त्यस्ता प्रतियोगितामा ट्रफी जित्नुभन्दा पनि प्रतियोगीले प्राप्त गरेको पर्याप्त अनुभव र अवसर सबैभन्दा महत्वपूर्ण कुरा हो । गायन रियालिटी सोको राम्रो/नराम्रो पक्ष भनेको दर्शक माया र आफ्ना लागि अवसर प्राप्त गर्ने सबैभन्दा राम्रो माध्यम हो । अर्को कुरा अहिले म नेपालमा प्रस्तुति दिन आएको छु जुन 

मेरो लागि ठुलो उपलब्धि हो र यो गायन रियालिटी सोको कारणले नै हो । 

यसको मलाई चित्त नबुझ्ने पक्ष भनेको रियालिटी सोहरूमा हुने भोटिङको माध्यमलाई म अस्वीकार गर्छु किनकि धेरै रियालिटी सोमा दर्शकहरूले प्रतियोगीहरूलाई उनीहरूको गायन उत्कृष्टताका आधारमा नभई भावनात्मक कुराबाट प्रभावित भएर भोट दिने गर्छन् । आर्थिक रूपमा विपन्न वा कठिनाइसँग लडेकाले यस्ता रियालिटी सोहरूमा बढी भोट पाउने गर्छन् । 

हाल इन्डियन आइडलमा सहभागी हुनुभएकी नेपाली गायिका मेनुका पौड्यालबारे तपाईंको धारणा के छ ?

भारतीय दर्शक निकै भावुक भएकाले मेनुका पौड्यालले धेरै भोट पाउन सक्नुहुन्छ । उहाँले इन्डियन आइडल जित्ने सम्भावना धेरै देखेको छु । 

तपाईंले नेपाली गीत कत्तिको सुन्नुभएको गाउनुभएको छ ? 

टिकटकमा भाइरल भएको गीत ‘बादल वर्षा बिजुली’ सुनेको छु र कन्सर्टमा ‘मोहनी लाग्ला है’ बोलको गीत गाएको पनि छु । मौका पाएमा नेपालको सङ्गीतकार र गायकसँगको सहकार्यमा गीत गाउने चाहना धेरै छ । 

नेपालमा कहाँ कहाँ घुम्नुभयो ?

यस पटक समय कम भएकाले पशुपतिनाथ मन्दिर मात्र दर्शन गर्न पाएँ अर्को पटक आउँदा अवश्य समय लिएर आउने छु । यहाँ बस्दा नेवारी खाना, विशेष गरी बफ सुकुटी औधी मन पर्‍यो ।