• १४ असार २०८१, शुक्रबार

स्थानीय संस्कृतिसँग पर्यटनलाई जोड्न आग्रह

blog

दमक समाचारदाता

दमक, मङ्सिर १९ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटनलाई स्थानीय सस्कृतिसँग जोड्नुपर्ने बताउनुभएको छ । प्रकृति र संस्कृतिसँग जोडेर पर्यटन विकासका लागि अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । 

मन्त्री किरातीले सोमबार दमकमा भएको एक कार्यक्रममा बोल्दै पर्यटन प्रवर्धनका लागि रैथाने स्वाद र स्थानीय स्वामित्वसहितका खाद्य परिकारको प्रवर्धनमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मौलिक परिकार तथा खानाहरूलाई पर्यटनसँग जोड्नु पर्छ ।” 

झापामा तारे होटलहरू पनि खुल्ने क्रम बढेका भन्दै उहाँले ती होटलमा स्थानीय परिकार उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यहाँका तारे  होटलमा  पनि भक्का खान पाउनु पर्छ ।” उहाँले पर्यटकलाई दिने नयाँपनले उनीहरूको बसाइ लम्ब्याउन र खर्च बढाउन सक्दा मात्र फाइदा लिन सकिने बताउनुभयो । भक्का चामलको पिठोबाट बनाइने परिकार हो । यसलाई पानीको बाफबाट पकाइन्छ । विशेष गरी यो परिकार झापासहित पूर्वी तराईमा जाडो मौसममा बिहानको खाजाका रूपमा खाइने गरिन्छ । 

विश्वमा नमुनाका रूपमा रहेको नेपालको संस्कृति र पहिचान ध्वस्त बनाउन कतिपय लागेका भन्दै किरातीले यसमा सचेत हुन आग्रह गर्नुभयो । सबै जाति र धर्मावलम्बी एकआपसमा मिलेर बसेको अवस्थामा त्यसलाई भत्काउन खोजिनु गम्भीर विषय भएको उहाँको भनाइ थियो । 

यसैबिच मन्त्री किरातीले दमक नगरपालिकाभित्रका खोलानालाको सौन्दर्यीकरण तथा बेतना सिमसार निर्माणको अवलोकन गर्नुभएको छ । उहाँले सङ्घीय सरकारको पनि यसमा चासो रहेको बताउँदै आफ्नो मन्त्रालयका तर्फबाट बजेटसमेत विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले खोलानालाको सौन्दर्य मात्र नबढाई कम्तीमा १० हजार जनाका लागि रोजगारीसमेत सिर्जना गर्ने दाबी गर्नुभयो ।