• १२ साउन २०८१, शनिबार

मूल्य नपाउँदा बिकेन सुठो

blog

नवलपरासी समाचारदाता

बुलिङटार (नवलपरासी), मङ्सिर १९ गते । अदुवा खेतीको उर्वर भूमि पूर्वी नवलपरासीका किसान यतिबेला अदुवा खन्न, सुठो बनाएर बेच्न व्यस्त छन् ।  मुख्य नगदेबालीका रूपमा जिल्ला अदुवा उत्पादनमा आत्मनिर्भर रहे पनि अदुवाको मूल्यमा हरेक वर्ष आउने उतारचढावले किसानलाई चिन्तित बनाएको छ । 

मूल्यमा एकरूपता आउन सके मात्र पनि अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्ने बुलिङटारमा २८ वर्षदेखि अदुवा खेती गर्दै आएका प्रेमसिंह लुङ्गेलीमगरले बताउनुभयो । 

अदुवाको मूल्यमा आएको कमीका कारण अहिलेसम्म खासै उत्पादन अनुसार अदुवा बिक्री गर्न नसकेको किसानले गुनासो गरेका छन् । कतिपयले घरखर्च चलाउन पनि अदुवा बिक्री भने गरेका कृषक भीमबहादुर सुनारीमगरले भन्नुभयो ।

नवलपरासीपूर्व गैँडाकोट देवचुली, मध्यबिन्दु र कावासोती नगरपालिकाका आठ वटा वडा र बुलिङटार, बौदीकाली, हुप्सेकोट, विनयत्रिवेणी गाउँपालिका अदुवाको पकेट क्षेत्रका रूपमा रहेका छन् तर अदुवाबाट बनेको सुठोको उचित मूल्य नहुँदा अदुवा कृषक मारमा परेका छन् । 

गत वर्ष सुठोको मूल्य प्रतिधार्नी एक हजार रुपियाँसम्म थियो भने अहिले प्रतिधार्नी ५५० रुपियाँमा मुस्किलले बिक्री हुने गरेको बुलिङटारका अदुवा कृषक रूपबहादुर थापामगरले बताउनुभयो ।

कावासोतीमा ३० वर्षदेखि अदुवा खरिद गरी बिक्री गर्ने व्यापारी आमबहादुर थापामगरले यो वर्ष अदुवा र सुठोको मूल्य बराबरी भएका कारण पनि सुठो बनाउन समय र श्रम बढी लाग्ने भएकाले किसानले अदुवा नै बिक्री गर्न थालेका र कतिपयले मूल्य कायम नहुँदा घरमै थन्क्याएर राख्ने गरेका बताउनुभयो । जिल्लाबाट हरेक वर्ष ३० करोड रुपियाँभन्दा बढीको अदुवा र अदुवाबाट बनेको सुठो निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।