• १० मंसिर २०८१, सोमबार

साझा प्रस्थान बिन्दु

blog

नेपालमा हुँदै आएका राजनीतिक परिवर्तनको मूल शक्ति भनेकै नेपाली जनता हुन्। विश्व परिवेश र जनचाहना अनुरूप नै लोकतान्त्रिक गणतन्त्रको राजमार्गमा नेपाल धेरै अगाडि बढिसकेको छ। राजनीतिक व्यवस्था परिवर्तनको यो चरण भनेकै अन्तिम हो । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्पमा अर्को कुनै व्यवस्थाको कल्पना गर्न सकिँदैन । संविधान सभाबाट जारी गरिएको नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्न सकिन्छ भन्नेमा राजनीतिक दल एकमत भएर नै परिवर्तन सम्भव भएको जगजाहेर छ । यद्यपि राजनीतिक दलका बिचमा सानातिना मतभेद नदेखिने होइनन् । दलीय मतभेदको फाइदा उठाउँदै परिवर्तन नचाहने पराजित मानसिकताका केही झुन्डले धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्ति यदाकदा नदेखिएको होइन । यस्तो प्रवृत्तिलाई नामेट पार्न राजनीतिक शक्तिबिच एकता र सहकार्य सधैँ कायम रहिरहनु आवश्यक हुन आउँछ ।

नेपालको संविधानमा भएको व्यवस्था अनुसार कुनै दलको एकल सरकार बन्न सक्ने सम्भावना ज्यादै न्यून देखिन आउँछ। राजनीतिक शक्तिहरूबिच गठबन्धनको संस्कार विकास भएको अवस्थामा मात्र देशको समुन्नति र सुशासनको जनअपेक्षा पूरा गर्नेतर्फ सरकारलाई अगाडि बढ्न मार्गप्रशस्त हुने स्पष्ट छ । नेताहरूबिच एकले अर्कोलाई गालीगलौज गर्नुको सट्टा देश विकासका साझा मुद्दामा केन्द्रित भएर अगाडि बढ्दा जनताको विश्वास जित्ने दर्बिलो आधार खडा हुन्छ । राजनीतिक दलले जनताको बिचमा जान कुनै अवसर अथवा चुनावको मिति कुर्नु पर्दैन । जनता नै सर्वोपरि शक्ति भएकाले निरन्तर जनताको नजिक रहेर आफ्ना गतिविधि सञ्चालन गर्दा जनतामा राजनीतिक दल तथा नेताप्रति विश्वास र भरोसा कायम रहिरहन्छ । 

दलहरूले जनताको विश्वास गुमाउनु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नुसरह हो। निर्वाचनमा व्यक्त भएको जनअभिमतलाई मनन गर्दै आगामी निर्वाचनको निरन्तर तयारीमा जुटिरहने दल नै जनअभिमत वृद्धि गर्न सक्षम रहन्छन्। यतिबेला प्रमुख राजनीतिक दलले देशव्यापी रूपमा आ–आफ्ना जनपरिचालन अभियान सञ्चालन गरिरहेका छन् । विशेष गरी नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनतामा जागरण ल्याउने गरी अभियानलाई तीव्रता दिएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने अन्य साना दलले पनि आफ्नो गच्छे अनुसारका गतिविधि गर्दै आएका छन् । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले गत साउन र भदौमा सञ्चालन गरेको ‘समुदायमा कांग्रेस’ मूल ध्येयसहित पार्टीको 

साङ्गठनिक सुदृढीकरण अभियान पूरा गरेको छ। कांग्रेसले आगामी पुस १६ देखि हुने महासमिति बैठकको तयारी पनि गरिरहेको अवस्थामा जनताको बिचमा सशक्त पार्टीका रूपमा स्थापित गरिरहने तयारीलाई तीव्र बनाएको देखिन्छ। 

यसै गरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिएर जागरण अभियान मङ्सिर १४ गतेदेखि प्रारम्भ गरेको छ। यता सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले अझ अगाडि बढेर दोहोरो अभियान सञ्चालन गर्दै जनताको मन जित्ने प्रयत्न गरिरहेको छ । गत भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियन’ सुरु गरेको उसले यो अभियान पूरा गरेर पार्टीलाई जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणतर्फ केन्द्रित गर्नुलाई सकारात्मक रूपमा हेरिएको छ । अन्य साना राजनीतिक दलले पनि जनतासँगको घरदैलो अभियान चलाउँदै आएका छन् । यस किसिमको राजनीतिक जागरण अभियानलाई निरन्तरता दिनु दलीय सुदृढीकरणका लागि अनिवार्य सर्त मानिन्छ । चुनावको बेला मात्र जनताको घरदैलोमा पुगेर चुनाव जितिन्छ भन्ने मानसिकता राजनीतिक दलले नत्याग्ने हो भने पार्टीको क्षयीकरण अवश्यम्भावी छ । 

सङ्घीय लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र देशको समुन्नति सबै राजनीतिक दलको साझा प्रस्थान बिन्दु भएकोप्रति कसैको पनि विमति नहोला। यसका लागि दलीय स्वार्थलाई बाधक बनाउनु कदापि हुँदैन। लोकतान्त्रिक–वाम गठबन्धनको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै राजनीतिक शक्तिलाई एकजुट भएर देशको समृद्धिको यात्रामा साथ दिन पटक पटक आग्रह गर्दै आउनुभएको छ । सरकारको स्थायित्व नै देशको समुन्नतिको यात्राको पहिलो सर्त हो । अतः भ्रष्टाचार न्यूनीकरण, सुशासन र आर्थिक सङ्कटबाट देशलाई पार लगाउँदै देश विकासको मूल मुद्दामा अघि बढ्न राजनीतिक दलबिच साझा सङ्कल्प गरिनु अपरिहार्य देखिन्छ।