• १२ साउन २०८१, शनिबार

अपाङ्गता भएकालाई अवसरको खाँचो

blog

मीना कंडेल

कावासोती, मङसिर १७ गते । साहस र आँट हुने हो भने अपाङ्गता भएकाहरूले पनि राम्रो काम गर्न सक्छन् । तर अपाङ्गता भएका व्यक्तिहरूले सीपमूलक तालिम पाएर पनि अवसर नपाएको गुनासो गरेका छन् ।  

अपाङ्गता भएका व्यक्तिहरूको ३२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा नवलपुरमा भएको अभिमुखीकरण कार्यक्रममा तालिम दिने संस्थाहरूले जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाएर रोजगारीसँग जोड्न माग गरिएको छ ।

नवलपुरको कावासोती नगरपालिका–१ का कमलप्रसाद भुसाल जन्मजात अपाङ्ग हुनुहुन्छ । उहाँको कम्मरदेखि तलको भाग नचल्ने हुँदा ह्वीलचियरविना हिड्डुल गर्न सक्नु हुन्न । उहाँको साहस र आँट हेर्ने हो भने सपाङ्गलेजस्तै काम गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि कावासोती–३ मा रहेको आरव्य एकेडेमीमा लेखापालको काम गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभयो, “कावासोती नगरपालिका–१ रिठ्ठेपानीबाट कावासोती–३ मा रहेको आरव्य एकेडेमीमा तीनपांग्रे स्कुटिमा आवतजावत गर्छु । मासिक ३० हजारसम्म आम्दानी हुनेगरेको छ ।” तर अपाङ्ग भएकै कारण हेर्नै दृष्टिकोणमा फरक रहेको भुसालको बुझाइ छ ।   

नवलपुर जिल्लामा अपाङ्गता भएका करिब सात हजार व्यक्ति छन् । जसमध्ये पाँच हजारले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । दुई हजारले प्राप्त गर्न सकेका छैनन् । अपाङ्गता भएका व्यक्तिहरू शारीरिक रूपमा कमजोर भए पनि मानसिक रूपमा स्वस्थ्य भएर पनि अवसर पाउन नसकेको गुनासा गरिदैआएको छ ।  

अपाङ्गता भएका व्यक्तिलाई दया मायाभन्दा पनि सहयोगको आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । अपाङ्गता भएका व्यक्ति हेर्दा बिचरा भन्ने गर्छौ तर समस्या के हो पहिचान नगर्ने र मजाकमा उडाउने प्रवृत्ति अझै पनि समाजमा रहेकाले यसको समाधान गर्न सबै लाग्नुपर्नै उहाँले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिmको सीप र क्षमतालाई उपयोग गर्नैगरी स्थानीय तहले नीति तथा ऐन बनाइ अवसर प्रदान गर्नुपर्ने जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो ।