• १२ साउन २०८१, शनिबार

काठमाडौँबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ : डा. महत

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत ।

नुवाकोट, मङ्सिर १७ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौँबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्नेमा जोड दिनुभएको छ । पञ्चकन्या गाउँपालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘अब काठमाडौँबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ ।  काठमाडौँ–छहरे सुरुङ मार्गको काम हामीले गरिरहेका छौँ । एक अर्ब बजेट पनि राखेका छौँ, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ ।’’ 

अर्थमन्त्री डा. महतले अध्ययन सम्पन्न भएपछि काठमाडौँ–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढ्ने बताउनुभयो ।डा. महतले भन्नुभयो, ‘‘चार महिनामा अध्ययन सम्पन्न गराउने हामीले अठोट लिएका छौँ । त्यसपछि चीन सरकारले थप विकल्प दिनेछ । त्यसपछि सुरुङ मार्गको प्रक्रिया अगाडि बढ्छ ।’’

उहाँले अब काठमाडौँ वरिपरिका जिल्लाको समय आएको बताउनुभएको छ । शनिबार पञ्चकन्या गाउँपालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘काठमाडौँ बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठुलो जनसङ्ख्या पनि छ ।’’

काठमाडौँसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला भएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘काठमाडौँमा राणाको जो नजिक थिए, राणालाई रिझाएका थिए, ती व्यक्तिले चाकरी गरेबापत पुरस्कारका रूपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौँ पुर्‍याउन सक्ने ठाउँको जमिन उनीहरू माग्थे । काठमाडौँसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौँ बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरू धेरै भए ।’’