• १२ मंसिर २०८१, बुधबार

हिमाली गाउँपालिका कवाडीमा दश शय्याको अस्पताल निर्माण

blog

हिमाली गाउँपालिका-५ कवाढीमा निर्माणाधीन दश शय्याको अस्पताल भवन । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, मङ्सिर १७ गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-५ को कवाडीमा दश शय्याको अस्पताल निर्माण भएको छ । जटिल खालको रोगका लागि एक दिन हिँडेर कोल्टीमा उपचार गराउने समस्या भोग्दै आएका यहाँका स्थानीयले अबदेखि गाउँमै त्यो सेवा पाउने भएपछि उनीहरूको मुहारमा खुसी छाएको हो ।

जटिल खालकाे रोगको उपचार हुने गरी कवाडीमा दश शय्याको अस्पताल निर्माणको काम सुरु भएपछि निकै खुसी लागेको हिमाली गाउँपालिका –५ का रिउली सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही समय पहिले यहाँका स्थानीयले बिरामी हुँदा सामान्य औषधि सिटामोल किन्न पनि एक दिन पैदल हिँडेर कोल्टी आउनुपर्ने समस्या थियो । २०७४ साल अर्थात् स्थानीय तह गठन भएपश्चात् गाउँ बस्तीमै स्वास्थ्य संस्था सञ्चालन भएपछि त्यो समस्या हटेको छ ।”

अहिले पनि जटिल खालको स्वास्थ्य समस्या आएपछि यहाँका स्थानीयले कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा जानुपर्ने अवस्था छ । कवाडीमा दश शय्याको अस्पताल निर्माण भएपछि यहाँका स्थानीयको त्यो समस्या पनि अन्त्य हुने सार्कीले बताउनुभयो ।

जिल्लाको एक विकट गाउँको रूपमा चिनिँदै आएको हिमाली गाउँपालिकाले पछिल्लो समय स्वास्थ्य, शिक्षा, बाटो तथा खानेपानी लगायतका भौतिक पूर्वाधारका क्षेत्रमा समेत निकै परिवर्तन गरेको छ । 

लामो समयदेखि कहिले खाद्यान्न त कहिले स्वास्थ्य तथा खानेपानीको समस्या भोग्दै आएका यहाँका स्थानीय अहिले भने त्यो समस्याबाट मुक्त हुँदै आएको हिमाली गाउँपालिकाले जनाएको छ । यो पालिकाका विभिन्न वडामा पहिला खोप लगाउन जाँदा स्वास्थ्यकर्मीलाई दुई चार दिन समय लाग्थ्यो । अहिले हिमाली गाउँपालिका ७ वटै वडाको प्रत्येक गाउँ बस्तीमा संस्था स्थापना गरेको छ । अहिले एक दिनमै सबै वडामा खोप लगाउने काम पुरा हुन्छ ।

त्यसैगरी जटिल खालको रोगको उपचार गर्न बाहिर जानुपर्ने अवस्था अन्त्य गर्दै गाउँमै विभिन्न रोग विशेषज्ञ डाक्टरले सेवा दिन दश शय्याको अस्पताल निर्माण गरिएको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाली गाउँपालिका लगायतका अन्य पालिकालाई समेत सहज हुने गरी विभिन्न रोग विशेषज्ञ डाक्टर सहित २५ जना स्वास्थ्यकर्मीले यो दश शय्याको भवनबाट सेवा दिनेछन् ।

२०८० असार मसान्तसम्म सबै काम सम्पन गर्ने गरी २०७८ साल साउनमा धुलिखेल निर्माण सेवा काठमाडौँले साढे छ करोडमा दश शय्या अस्पताल भवन निर्माण कामको ठेक्का लिएको हो ।" जिम्मा लिएको सो कम्पनीको अहिले झण्डै ६० प्रतिशत काम भएको हिमाली गाउँपालिकाको प्रमुख प्रशासकीय राजबहादुर भण्डारीले बताउनुभयो ।

गाउँपालिकामा रहेका कुनैपनि नागरिकहरूले आर्थिक अभावको कारण ज्यान नगुमाउन र उनीहरूले जटिल उपचारको लागि कहिल्यै पनि बाहिर जानु नपरोस् भनी पछिल्लो समय गाउँमै दश शय्याको अस्पताल निर्माणका काम सुरु गरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि हिमालीको पालिकाको सात वटै वडामा ७ वटा आधारभूत ४ वटा स्वास्थ्य इकाई केन्द्र र २ वटा स्वास्थ्य चौकी लगायत ११ वटा स्वास्थ्य संस्था गाउँ बस्तीमा सञ्चालनमा छन् । ”

दुर्गम गाउँका स्थानीयको थप जटिल खालको रोगको सहज उपचार हुने गरी पछिल्लो समय गाउँमै दश शय्याको अस्पताल निर्माण सुरु गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।