• २ असार २०८१, आइतबार

कांग्रेस लुम्बिनी प्रदेशको बन्द सत्र सुरु

blog

कपिल ज्ञवाली 

सिद्धार्थनगर, मङ्सिर १७ गते । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको दोस्रो दिन बन्द सत्र सुरु भएको छ । प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमिति सहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरी करिब ७ सय जनाको सहभागिता रहेको प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल मुस्कानले बताउनुभयो ।  

सम्मेलनमा उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन, महामन्त्री सुरेन्द्रराज आचार्यले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कांग्रेसका प्रदेश सदस्य युवा नेता विष्णु पोख्रेलले बताउनुभयो । 

प्रतिवेदनमाथि प्रतितिधिहरुको छलफलपछि आगामी कार्यदिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिनुभयो । 

सम्मेलनको उद्घाटन शनिबार केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्नुभएको थियोे । बन्द सत्र कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षता र सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) को सञ्चालनमा चलिरहेको छ ।

कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, पुष्पा भुसाल, दीपक गिरी, डा. गोविन्द पोख्रेल, अजयबाबु सिवाकोटी, अब्दुल रज्जाकलगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति  छ । सम्मेलन ठोस कार्यदिशा तय गरेर करिब ४ बजे सकिने अनुमान गरिएको छ ।