रजनी योगी
सुर्खेत, मङ्सिर १७ गते। मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खब्बागाडे खण्डको कामले गति लिन सकेको छैन । समयमा सडक निर्माण नहुँदा सर्वसाधारणले अनावश्यक सास्ती खेप्दै आएका छन् ।
विभिन्न ठाउँमा जीर्ण सडकलाई फोडेर निर्माण कम्पनीले ग्राभेल गरेपछि पनि सर्वसाधारणले झनै सास्ती खेप्न परेको पञ्चपुरी नगरपालिका–२, हरि गिरीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “बाटोमा पैदल हिँडडुल गर्न पनि समस्या भइरहेको छ । सडक त सास्ती भएको छ, कहिले हिलो, कहिले धुलो ।”
उक्त सडकखण्डको १८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । वित्तीय प्रगति १३ प्रतिशत छ । साढे १२ किलोमिटर सडकखण्डका लागि प्रदेश सरकारले ४२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपियाँ लागतमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ सालदेखि निर्माण काम सुरु भएको थियो ।
२०८१ साल असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । हालसम्म कामको प्रगति निकै न्यून रहेकाले समयमा नै सम्पन्न हुनेमा शङ्का छ । सम्झौता अवधि सकिन केही समयमात्र बाँकी रहँदा ८२ प्रतिशत काम गर्न बाँकी नै छ । अहिलेसम्म साढे दुई करोड बजेट खर्च भएको छ ।
बाटो फराकिलो बनाउने, नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरिशर्मा धितालले जानकारी दिनुभयो । उहाँका अनुसार लक्ष्य अनुसार काम अघि बढ्न सकेको छैन ।
यो सडकखण्डमा सात किलोमिटर जङ्गल क्षेत्र छ । रूख कटानको अनुमति नआएकाले छिटो काम गर्न नसकिएको भनाइ शर्माको छ । समयमा रुख कटान आदेश नभएर काममा ढिलाइ भइरहेको उहाँको भनाइ छ । यही गतिमा काम भए निर्माण अवधि थप दुई वर्ष पर धकेलिने निर्देशनालयको अनुमान छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको ४५ किलोमिटर सडकको तीन खण्डमध्ये दुई वटा खण्डमा काम भइरहेको छ । सो सम्झौता अनुसार समयावधिभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्ड निर्माणको काम अघि बढाइएको हो ।
विद्यापुर–बल्दे सडकखण्डमा बाटो कटिङ र स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ । २२ किलोमिटर सडकखण्ड निर्माणका लागि एक अर्ब २१ करोड रुपियाँ बजेटमा निर्माण काम सम्पन्न गर्ने गरी बानियाँ मोतीदान डिएसजेभी काठमाडौँले ठेक्का सम्झौता गरेको छ ।
सम्झौता अनुसार २०७९ साल फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ साल फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । अहिलेसम्म कामको १२ प्रतिशत भौतिक प्रगति भएको छ भने १० प्रतिशत वित्तीय प्रगति भएको छ ।
त्यस्तै राजमार्गको जङ्गल क्षेत्रमा पर्ने रुख कटानका लागि अनुमति आइसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । क्याबिनेटबाट रुख कटानको आदेश आए पनि वनबाट अनुमति नहुँदा काम सुरु भएको छैन । सडक आयोजना अन्तर्गत ट्र्याक खोल्ने र चौडा बनाउने काम भइरहेको छ । दुई वटा खण्डको काम भए पनि राजमार्ग अन्तर्गत खम्बागाडे–विद्यापुर सडकखण्डको काम भने अघि बढ्न सकेको छैन ।
उक्त खण्डमा कामको सम्झौतासमेत भएको छैन । सो क्षेत्रमा पनि रुख कटानको अनुमति भने आइसकेको छ । राजमार्गको तीन वटा सडकखण्डमध्ये दुई वटा खण्ड मदन भण्डारी राजमार्गले गर्ने छ । त्यसमध्येको खम्बागाडे–विद्यापुर सडकखण्डको १० किलोमिटरको काम सञ्चालन भएको छैन ।