• २६ वैशाख २०८२, शुक्रबार

मुक्त कमलहरीको एक दशक : अझै भएन दिगो व्यवस्थापन

blog

छलफलमा सहभागी सरोकारवाला । तस्बिरः कविता थापा

काठमाडौँ, मङ्सिर १५ गते। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा “मुक्त कमलहरीको एक दशक -स्वतन्त्र बन्धक मजदुरका अनुभव र कथा_ को विषयमा छलफल भएको छ। प्लान इन्टरनेशनल नेपालले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मुक्त कमलहरी भएको एक दशक पुगे पनि दिगो व्यवस्थापन हुन नसकेको भन्दै छलफल गरेको हो।  

मुक्त कमैया र कमलहरीको विषयमा बनेको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बताउनुभएको छ। उहाँले परापूर्वकालदेखि हिंसा भोग्दै आएका मुक्त कमैया, कमलहरीको पीडा अझै जिउदै रहेको र पूर्णरुपमा समाधान नभएकाले प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताउनुभयो। मुक्त कमैया कमलहरीको विषयमा स्पष्ट कानुन नरहेकाले राज्यको तर्फबाट हुनुपर्ने कुरामा सरकार चुकेको उहाँको भनाइ छ। 

“द्वन्द्वकालमा २७ जना मुक्त कमलहरी बेपत्ता, ११ जनाको यौन हिंसाबाट बच्चा जन्मिको र पाँच जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। तर कार्यान्वयन भएको अवस्था छैन,” उहाँले भन्नुभयो, “१२ हजार कमलाहरीको तथ्यांक दिएका थियौँ, तर के कति कारणले नौ हजारको मात्रै रेकर्ड प्रतिवेदनमा छ।” प्रतिवेदन कार्यान्वयन नभएकै कारण सरकार पहलकदमी लिन नसकेको उहाँको भनाइ छ। 

कार्यक्रममा पत्रकार तथा साहित्यकार कृष्णराज सर्वहारीले कमैया र कमलहरीको विषयमा आफूले २०५५ सालदेखि कलम चलाएको र आफूले कलम चलाएको दुई वर्षपछि नै मुक्त कमैयाको घोषणा भएको स्मरण गर्दै कमलहरीका लागि नीतिगत अवस्थाबारे सरकारलाई जानकारी भएपनि दस्तावेजीकरण नहुँदा यस्ता दासात्वका इतिहास हराउने बताउनुभयो। “हरेक कमलहरी खुला किताब हुन्, प्रत्येकसँग आ–आफ्नै कथा छन्,” उहाँले भन्नुभयो, “हरेक मानिस बोलेर आफ्ना मनका कुरा भन्न नसक्ने हुन्छ त्यसकारण बोल्न नसक्नेले लेख्ने प्रयास् गर्नुस्।”

पूर्व कमलहरी उर्मिला चौधरीले कमलहरी सम्बन्धि कविता बाचन गर्नुभएको थियो। कार्यक्रममा मुक्त कमलहरी विकास मञ्च दाङकी सचिव अंकिता चौधरीले कमलहरी अझै हिंसाबाट प्रभावित रहेकाले कमलहरीको बारेमा सरकारले चाँडै कानुन बनाएर अधिकार दिनुपर्ने माग गर्नुभयो । प्लान इन्टरनेशनल नेपालले अथेन्टिक लिडरसिप इन्स्टिच्युट नेपालसँगको सहकार्यमा मुक्त कमलहरीका मुद्दालाई सक्रियताका साथ अगाडि बढाएको प्लानकी अभियान प्रशासक लक्ष्मी चौधरीले बताउनुभयो। 

नेपालमा वर्षौंदेखि चलेको कमलहरी व्यवस्थाका कारण गरिबीबाट बाहिर निस्कन नसक्दा अझै पनि एक हजार कमलहरी आधारभूत सुविधाबाट बञ्चित छन्। मुक्त कमलहरीको दिगो व्यवस्थापन हुन जरुरी रहेको उहाँको भनाइ छ।