गजेन्द्र गुरुङ
खजुरा, मङ्सिर १५ गते । बाँकेका महिलाहरू समूह बनाएर पञ्चेबाजाको संरक्षण गर्दै व्यावसायिक रूपमा आयआर्जनमा जुटेका छन् । राप्तीसोनारी गाउँपालिका–८ की दीपा बस्नेतले गाउँका दिदीबहिनीहरूको समूह बनाएर पञ्चेबाजालाई व्यावसायिक रूपमा सञ्चालन गरी आयआर्जन गर्दै संरक्षण समेत गर्दै आएको बताउनुभयो ।
व्यावसायिक रूपले नै पञ्चेबाजा बजाउन सुरु गरेपछि सिजनका बेलामा बिहेबारी तथा मेला महोत्सवमा बाजा बजाउन भ्याइनभ्याई भएको उहाँको भनाइ छ । ‘महिला पञ्चेबाजा समूह’ मार्फत् आफू मात्र नभएर गाउँका अरू महिलाहरूले पनि संयुक्त रूपमा पञ्चेबाजा बजाउने गरेको दीपाले बताउनुभयो । “हिजोआज त फुर्सद निकाल्नै मुस्किल पर्छ” आफ्नो व्यस्तताबारे सुनाउँदै दीपाले भन्नुभयो, “एकातिर लोपोन्मुख बाजाको पनि संरक्षण हुने अर्कोतर्फ आयआर्जनमा पनि टेवा पुग्ने भएकाले यो पेसा राम्रै भएको छ ।”
उहाँ मात्र होइन भीमा विष्ट पनि पञ्चेबाजाको टोलीमा सहभागी हुने गर्नुभएको छ । उहाँले बाजा बजाउन थालेको दुई वर्ष भयो । दीपा, भीमामात्र नभएर यो समूहमा मैसरी खत्री, हिरा डाँगी, अमृता सुनार, वीरमा घर्ती, सुशीला खड्का पवित्रा खड्का, दिलमाया विष्टसहित २० जना महिला दिदीबहिनी आबद्ध हुनुहुन्छ ।
सुरुसुरुमा महिलाहरूले पञ्चेबाजा बजाउँछन् भनेको सुन्दा गाउँमा खिसीटिउरी गर्नेहरू हिजोआज भने उनीहरू आफैँले बिहेवारी तथा मेला महोत्सवमा बोलाउने गरेको सुनाउनुहुन्छ दीपा । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले बाजा बजाउँदै समूहमा हिँड्न थालेको दीपाले बताउनुभयो । “महिला भए भन्दैमा दबिएर पिल्सिएर बस्नु पर्छ भन्ने होइन । आँट, साहस र आत्मबल जुटाउने हो। सीप सिकेर अगाडि बढ्न सकियो भने असम्भव केही छैन, पुरुषले गर्ने काम हामी महिलाले पनि गर्न सक्छौँ,” उहाँले भन्नुभयो । विवाह तथा मेला महोत्सवमा पञ्चेबाजाको माग बढ्न थालेपछि सदरमुकाम नेपालगन्जमा पनि पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।
पुरुषले बाजा बजाउने चलन पहिलेदेखि चलिआए पनि ग्रामीण भेगमा महिलाले व्यावसायिक रूपमा यो पेसा गर्न थालेको भने केही वर्षदेखि मात्र हो । राप्तीसोनारी गाउँपालिकाका यी महिलाले यसलाई व्यावसायिक रूपमा अगाडि बढाएका मात्रै छैनन् आम्दानीको राम्रो स्रोत समेत बनाएका छन् ।
पञ्चेबाजा समूह सदस्य दीपाले आफूहरूले पञ्चेबाजा बजाएर गत वर्ष १ लाख ५० हजार रुपियाँ आम्दानी गर्न सफल भएको सुनाउनुभयो । यस वर्ष पनि मङ्सिरको आधा सम्म करिब ५० हजार जम्मा भैसकेको उहाँको भनाइ छ ।
पश्चिमेली संस्कृतिको प्रभाव र युवा पुस्ताले चासो नदिँदा पञ्चेबाजा लोप हुने अवस्थामा छ । तर राप्तीसोनारी गाउँपालिका–८ र ९ का महिला भने यसको संरक्षणका लागि समूह बनाएर जुट्नुभएको हो । उहाँहरूलाई बाँके राष्ट्रिय निकुञ्जको मध्य विन्दु उपभोक्ता समितिले तालिम तथा बाजाको व्यवस्थापन गरेर सहयोग गरेको समितिका अध्यक्ष हर्कबहादुर विष्टले बताउनुभयो । राप्तीसोनारी गाउँपालिका वडा नं.९ ले पनि पञ्चेबाजाको संरक्षणका लागि महिलालाई सीप सिकाएको उहाँको भनाइ छ ।
सीपसँगै गाउँपालिकाले व्यावसायिक बनाउनका लागि पञ्चेबाजा समेत सहयोग गरिएको राप्तीसोनारी गाउँपालिका वडा नं.९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो ।
गाउँपालिकाले पनि स्थानीय कला संस्कृति संरक्षणमा जोड दिएको पालिका अध्यक्ष तप्पबहादुर पौडेलले बताउनुभयो । “स्थानीय कला संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा पालिकाले बर्सेनि लगानी गर्दै आएको छ,” उहाँले भन्नुभयो, “महिलाहरूले थालेको यो अभियानमा पनि हाम्रो साथ र सहयोग रहन्छ ।”
विभिन्न धर्म तथा समुदायका कला संस्कृतिलाई जोड्दै पालिकाको पहिचानका रूपमा लैजाने नीति पालिकाको रहेको उहाँले बताउनुभयो । “राप्तीसोनारी गाउँपालिका कला र संस्कृतिले भरिएको पालिका पनि हो,” उहाँले भन्नुभयो, “थारु समुदायको आफ्नै कला र संस्कृति छ । रुकुमेली, सल्यानीहरुको आफ्नै मौलिकता बोकेको कला संस्कृति छ । यो नै हाम्रो पालिकाको विविधताभित्रको सांस्कृतिक एकता र पहिचान हो ।” पहिचानसँग जोडिएका कला संस्कृति संरक्षणका लागि यसको पुस्तान्तरण जरुरी रहेको पनि उहाँले बताउनुभयो ।