• २० वैशाख २०८१, बिहिबार

किन जाडोमा छालाको समस्या देखिन्छ ?

blog

सिर्जना खत्री

काठमाडौं, मङ्सिर १५ गते । चिसो मौसममा छालाको समस्या बढी देखिन्छ । वरिष्ठ छालारोग विशेषज्ञ प्रा.डा.सबिना भट्टराईका अनुसार चिसो मौसममा छाला सुख्खा, खस्रो हुने, छालाबाट सेतो धुलो निस्कने समस्या देखिन्छ ।  त्यसैगरी, चिसोको कारण कत्लेरोग, सोरासिस, एक्जिमा, एलर्जी जस्ता छालाको समस्या बढ्नुका साथै धेरै घाममा बस्ने हुँदा छालामा चायाँ पोतो जस्ता समस्या बढ्ने डा.भट्टराई बताउनुहुन्छ । 

जाडोमा कामकाजी महिलाका हातखुट्टा फुट्ने, ओठ फुट्ने, हातखुट्टा सुनिने, चिलाउने, रातो फोका आउने छालामा निलो/रातो डाम आउने जस्ता छालाको समस्या देखिने गर्छ जसलाई पर्निओसिस पनि भन्ने गरिन्छ । 

के हो पर्निओसिस ?

डा. भट्टराईका अनुसार हातखुट्टा सुन्निने, खुला छाला चिसो हुने, रातो फोका आउने, छालामा निलो, रातो डाम देखिने समस्यालाई पर्निओसिस भनिन्छ । यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखिन्छ।

भाँडा माझ्ने, लुगा धुने वा पानी धेरै चलाउनुपर्ने महिलामा यो समस्या बढी देखिने चिकित्सक बताउँछन् । डा. भट्टराईका अनुसार यस्ता समस्या कपडाले नछोपिएको भागमा छाला चिलाउने, पोल्ने, सुन्निने, दुख्ने, घाउ हुने हुन्छ । बिस्तारै छालाको रङ परिवर्तन हुने, छाला रातो र गाढा निलो हुने हुन्छ । छालामा पानीको फोका आउने गर्छ । त्यसलाई स्याहार नगरेमा बिस्तारै फोका फुटेर घाउ हुने त्यो ठाउँमा ब्याक्टेरिया वा अन्य भाइरसको सङ्क्रमण भएर विभिन्न समस्या निम्तिने उहाँ बताउनुहुन्छ । 

यस्तो छालाको समस्यालाई हेलचेक्राइँ गरेमा हातखुट्टाका औँला झर्न पनि सक्ने चिकित्सकको भनाइ छ । 

जाडोमा यस्तो समस्या देखिनुका कारण 

जाडोमा चिसो वातावरणले शरीरमा भएको चिल्लो पदार्थ सोचेर लिने कारणले गर्दा छाला सुख्खा हुने, खस्रो हुने जस्ता समस्या बढ्ने डा.भट्टराईको भनाइ छ । उहाँका अनुसार चिसोमा कोठामा हिटर, आगो बालेर धेरै बस्दा छाला सुख्खा हुने हुन्छ । चिकित्सकका अनुसार धेरै चिसोमा एक्पोज हुँदा रक्तसञ्चार नली खुम्चिएर रक्तसञ्चारमा कमी आई छालाको रङ परिवर्तन हुन्छ । नसा खुम्चिएर रक्तसञ्चारमा अवरोध आएर रगत बग्ने, सानासाना नली खुम्चिने चिकित्सक बताउँछन् । रक्तसञ्चारमा गडबडी हुँदा छाला रोगमात्र नभई मुटुरोग, बाथ रोगका बिरामीमा बढ्ने गर्दछन् । यस्तो समस्या हुने मानिसलाई प्रायः जाडोयाममा दोहाेरिने डा. भट्टराई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“यो समस्या एलर्जी जस्तै उपचारपछि पनि बारम्बार बल्झिने गर्छ । यो समस्यालाई घरमा नै उपचार गर्न सकिन्छ ।” 

बच्ने उपाय

चिकित्सकका अनुसार चिसोबाट बच्नु नै यसको मुख्य उपचार हो । चिसो मौसम सुरु भएपछि हातखुट्टा वा शरीरको खुला भागलाई न्यानो पारेर राख्ने, धेरै चिसो पानी नचलाउने, पानी चलाउनै परेमा तातो पानीको प्रयोग गर्ने वा पन्जा लगाएर मात्र चलाउने गर्नुपर्छ । घरबाट बाहिर निस्किँदा चिसोबाट बच्न टोपी, पञ्जा, मोजा लगाउने । चिसोबाट छाला जोगाउन सकेसम्म साबुनको प्रयोग कम गर्ने, नुहाइसकेपछि हल्का पुछेर पूरै शरीरमा मोइस्चराइजर क्रिमको प्रयोग गर्न चिकित्सकको आग्रह छ । घरमा बस्दा हिटर बालेर वा आगो तापेर न्यानो भएर बस्नु राम्रो हुन्छ ।

बिहान-बेलुका १० मिनेट मनतातो पानीमा हातखुट्टा डुबा मोइस्चराइजर क्रिम, तेल लगाउने गर्नुपर्छ । चिसोबाट जोगाउँदा पनि समस्या कम भएन भने छाला रोग विशेषज्ञलाई देखाउन डा.भट्टराईको सुझाव छ । यसको उपचारमा चिकित्सकको सल्लाह अनुसार खाने र लगाउने औषधिको प्रयोग गर्न सकिन्छ, जसले चिसोले खुम्चिएर बसेका नशालाई खुलाउन मद्दत गर्छ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।