• २३ पुस २०८१, मङ्गलबार

एसियाली बुद्धिचालमा विदेशी खेलाडीको वर्चस्व

blog

काठमाडौँ, मङ्सिर १४ गते । हेटौँडामा जारी हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगितामा बिहीबार तेस्रो चरणका खेल सम्पन्न हुँदा विदेशी खेलाडीले वर्चस्व जमाएका छन् । 

प्रतियोगितामा भारतका सुभयान कुण्डु, बङ्गलादेशका आइएम मोहमद मिजाउदिन, फिडे मास्टर मोहमद सरिफ हुसैन नयेम हक, भारतीय एफएम अर्बिन्देर प्रीत सिंह, एरिना एफएम सौरभ चौबे, श्रयण मजुम्दार र अमरदीप बर्ट्के समान ३ अङ्क सहित संयुक्तरूपमा शीर्ष स्थानमा हुनुहुन्छ । 

२३९३ रेटिङ यस प्रतियोगिताका शीर्ष वरियताका भारतीय खेलाडी कुण्डुले तेस्रो चरणमा नेपाली यु–१५ पुरुषोत्तम सिलवाललाई हराउनुभयो । नेपालका सुश्रुत दाहाललाई हराउँदै दोस्रो वरियताका बङ्गलादेशी आईएम मोहमद मिजाउदिन पनि तीन अङ्क बटुल्नुभयो । 

बङ्गलादेशी एफएम मोहमद सरिफले नेपालका राजन सुवेदीलाई र नयेम हक भारतनका मोहित कसमार सोनीलाई पराजित गर्नुभयो । भारतीय एफएम अर्बिन्देर प्रीत सिंहले भारतकै शसुन्तोष कुमारलाई पन्छाउनुभयो भने एरिना एफएम सौरभ चौबेले भारतका अमित धोन्दियाललाई स्तब्ध बनाउनुभयो । 

यस्तै भारतका श्रयण मजुम्दारले बङ्गलादेशका मोहमद रसिदलाई हराउनुभयो । अमरदीप बर्ट्टकेले श्रीलङ्काका खेलाडी सचिने रणसिंघे माथि बाजि मार्नुभयो । बङ्गलादेशी अन्तर्राष्ट्रिय मास्टर (आईएम) अबु सुफियान शकिल भारतीय १७६३ रेटिङ भएका कमद मिश्रसँग बराबरमा रोकिनुभयो । दुवैको समान २.५ अङ्क रहेको छ । अर्को खेलमा बङ्गलादेशी एफएम देवराज चतर्कीलाई दोस्रो झड्का दिँदै भारतीय खेलाडी राज देव, राहुल गुरुङ र फतिमा मरिउम लेसमान २.५ अङ्क बनाउनुभएको छ । 

यस्तै वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, श्रीलंकन महिला अन्तर्राष्ट्रिय मास्टर (डब्लुएफएम) सचिनी रानासिंघे, पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाल, एफएम अहमेद शेख नासिर, पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाई, युवा खेलाडी शुभम् श्रेष्ठ र राजन सुवेदीको दुई अङ्क छ ।

कूल पाँच लाख ८७ हजार पाँच सय रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले एक लाख २५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ठ १५ र क्याटवरी २३ गरी कूल ३८ जना खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने नेपाल बुद्धिचाल महासङ्घका महासचिव धरम लामाले जानकारी दिनुभयो ।