• १२ मंसिर २०८१, बुधबार

खेल सङ्घको वर्गीकरण गर्ने तयारीमा राखेप

blog

काठमाडौं, मङ्सिर १४ गते । खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल सङ्घलाई वर्गीकरण गर्ने तयारी गरेको छ । 

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ परिच्छेद २ को नियम ३ बमोजिम समिति र राखेपका सदस्य सचिवबाट खेलको वर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद्मा पेस गर्ने व्यवस्था भए अनुरूप राखेपका पूर्व सदस्य सचिव युवराज लामाको संयोजकत्वमा सात सदस्यीय खेलको वर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको  छ ।

सदस्यहरूमा राखेपका पूर्व उपाध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका सहमहासचिव पीताम्बर तिम्सिना, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा, माउन्टेन स्पोर्ट्स फेडरेसन, नेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई रहनुभएको छ । 

खेल सङ्घलाई क्रियाशील बनाइ खेलकुद गतिविधिहरूको कार्यान्वयनमा प्रभावकारिता ल्याउन बुधबार सदस्य सचिव टङ्कलाल घिसिङबाट कार्यदल गठन गर्ने निर्णय गरिएको हो । कार्यदलले विस्तृत अध्ययन गरी २१ दिन भित्र सदस्य सचिव घिसिङ समक्ष प्रतिवेदन पेस गर्नु पर्नेछ ।

सदस्य सचिव घिसिङ राखेपको नेतृत्वमा आएपछि राष्ट्रिय खेल सङ्घलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन क्रियाशील रहनुभएको छ । हालसम्म २४ सङ्घले निर्वाचन सम्पन्न गरिसकेका छन् । राखेप अहिले खेल सङ्घलाई दुई अङ्कमा भर्ने रणनीतिमा रहेको छ ।