• १५ मंसिर २०८१, शनिबार

बाँझो जामिनलाई उपयोग गर्दै घाँस खेतीबाट आम्दानी

blog

भानु नगरपालिका–५ पुरनडिहीमा बाँझो रहेको खेती योग्य जमिन। तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर १४ गते। तनहुँमा बाँझिएको खेती योग्य जमिनको उपयोग गर्दै घाँस खेतीबाट आम्दानी लिइने भएको छ। गण्डकी प्रदेश सरकारको ‘‘बाँझो जग्गामा घाँस खेती प्रवर्द्धन कार्यक्रम’’ अन्तर्गत बाँझो जमिनको सदुपयोग गर्ने कार्य अघि बढाइएको छ। भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले प्रदेश सरकारको सहयोगमा कार्य अघि बढाएको छ। गण्डकी प्रदेश सरकारको  बाँझो जग्गामा घाँस खेती गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन मापदण्ड २०८० अनुसार काम अघि बढेको केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार वैदेशिक रोजगारीले गर्दा गाउँ युवा विहीन हुँदा जनशक्ति अभाव तथा बाँदरको समस्याले जमिन बाँझिने क्रम बढेकाले राख्नेक्रम बढेपछि पशुपालनमा प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको हो।  बाँझो जमिनमा घाँस खेती गर्नेलाई प्रतिरोपनी तीन हजार अनुदानको व्यवस्था गरिएको छ। तीन वर्षसम्म खेती नगरी बाँझो रहेको जमिनमा अनुदानको व्यवस्था गरिएको केन्द्रका प्रमुख डा. राजेशकुमार चौधरीले बताउनुभयो। 

अनुदानको लागि कार्यालय तोकेका नेपिएर, मठ नेपिएर, सुपर नेपिएर, रेड नेपिएर लगायतको उन्नत जातको डाले घाँस लगाउनुपर्ने प्रावधान राखिएको केन्द्रले जनाएको छ। खेर गएको खेती योग्य जमिनको सदुपयोग हुने र पशुचौपायको लागि दानामा हुने खर्च घट्ने भएकोले गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग कार्यक्रम ल्याइएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले बताउनुभयो । 

यस आर्थिक वर्षमा छ सय २० रोपनी जमिनमा घाँस खेती गर्नको लागि १८ लाख ६० हजार रुपियाँ निकासी भएका उहाँले जानकारी दिनुभयो। व्यावसायिक कृषक, समूह तथा सहकारीलाई आवेदन दिन सूचना समेत जारी भइसकेको ठकुरीले बताउनुभयो।  पशुपालक कृषकसँग सहकार्य गरी घाँस बिक्री गर्न सकिने केन्द्रले जनाएको छ। १५ रुपियाँ प्रतिकिलो पराल कृषकले किन्नुपरेकोले घाँस पाँच रुपियाँ किलो विक्री गर्न सकिने केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार खेती बाँदरले नोक्सान पुर्‍याउने, ज्याला तुलनामा आम्दानी कम हुने भएकोले युवाहरू कृषि छाडेर विदेश पलायन भएका छन् र गाउँमा जमिन बाँझो भएको छ। गाउँ छाडेर सहरमा बस्ने, प्रवृत्ति बढ्दै गएकोले गर्दा  पनि गाउँघरका जमिन बाँझो हुने अवस्थामा बढ्दै गएको छ।  

खेतीमा लगानीअनुसार फाइदा नहुने देखिएपछि पेसाबाट पलायन हुने अवस्था पनि सिर्जना भएकोले पशुपालनबाट खेतीभन्दा बढी नाफा हुने घाँस खेती गरी पशुपालन गर्न बाँझो जमिनमा घाँस खेती कार्यक्रम ल्याइएको छ। घाँसको बिरुवा केन्द्रले आफैँ उत्पादन गरिरहेको र निजी फर्मबाट पनि खरिद गरेर लगेर व्यावसायिक रूपमा घाँस खेती गर्न सकिने छ। 

कृषि ज्ञान केन्द्र तनहुँका अनुसार जिल्लामा ६५ हजार ६१ हेक्टर खेतीयोग्य जमिन भए पनि हाल ५१ हजार ५१० हेक्टर जमिनमा खेती गरिएको छ । खेतीयोग्य १३ हजार ५६३ हेक्टर जमिन बाँझो रहेको छ।