• १८ असार २०८१, मङ्गलबार

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता

blog

फुटबल खेलाडी र नगरपालिकाबीच मासिक भत्ताका लागि सम्झौता कार्यक्रममा सहभागी । तस्बिर : गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर १४ गते । बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना उत्कृष्ट फुटबल खेलाडीलाई यसै मङ्सिर महिनादेखि भत्ता उपलब्ध गराउने भएको हो । 

खेल क्षमताको आधारमा खेलाडीहरूलाई तीन श्रेणीमा वर्गीकरण गरी सोही अनुरूप मासिक भत्ताका व्यवस्था गरिएको छ । वर्गीकरणअनुसार ‘ए प्लस’ श्रेणीका खेलाडीलाई मासिक १५ हजार ‘ए’ श्रेणीलाई १० हजार तथा ‘बी’ श्रेणीका खेलाडीका लागि मासिक सात हजार रुपियाँ भत्ता दिन सुरु गरिएको बर्दिबास नगर खेलकुद विकाश समितिले जनाएको छ । 

समितिका अध्यक्षका दीपेन्द्रकुमार शिवभक्तीकाअनुसार खेलाडी भत्ताबापत नगरपालिकाको मासिक तीन लाख रुपियाँ खर्च हुनेछ । यसकालागि बर्दिबास नगरपालिका तथा वर्गीकरणमा परेका खेलाडीबिच अभिभावकको रोहवरमा बिहीबार लिखित सम्झौता भएको छ । सम्झौताअनुसार नगरपालिकाले आवश्यक खेल सामग्रीका साथै हरेक महिनाको १० गते खेलाडीलाई तोकिएको भत्ता उपलब्ध गराउने छ भने खेलाडीले सम्झौता पत्रमा उल्लेखित आचारसंहिताको अधीनमा रही नियमित खेल अभ्यास गर्नु पर्ने छ । 

नगर खेलाडी सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रह्लाद क्षेत्रीले अनुदान कटौतीका कारण नगरपालिका वित्तीय सङ्कटमा परेको अवस्थामा पनि खेलकुदको संस्थागत विकाश तथा खेलाडीको उत्साह र समुन्नतिका लागि मासिक भत्ताको व्यवस्था गरेको बताउनुभयो । ‘‘नगरपालिकाले आर्थिक सङ्कटको बाबजुद खेलाडीहरूले बर्दिबासको परिचय र पहिचान बढाउने उद्देश्यले खेलाडीहरूलाई नियमित अभ्यास र उत्कृष्ट खेल प्रदर्शनका लागि मासिक भत्ता दिने व्यवस्था गरिएको हो’’, नगरप्रमुख क्षेत्रीले भन्नुभयो ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत किरणनिधी तिवारी एवं शिक्षा तथा खेलकुद शाखाका अधिकृत रोमन निरौलाले खेलकुदका लागि चालु आवमा नगरपालिकाले विनियोजन गरेको ४० लाख बजेटमध्येबाट भर्पाई हुने गरी खेलाडीलाई मासिक भत्ताको व्यवस्था मिलाइएको बताउनुभयो । मासिक भत्ताले खेलाडीहरूको प्रोत्साहन तथा खेलकुदको संस्थागत विकाशमा योगदान पुग्ने उहाँहरूले बताउनुभयो ।