काठमाडौँ, मङ्सिर १४ गते । टेस्ट टोली जिम्बावेलाई पछि पार्दै युगान्डा सन् २०२४ को टी–२० विश्वकपमा छनोट भएको छ । अफ्रिका महादेशीय छनोट अन्तर्गत नामिबियामा बिहीबार भएको खेलमा युगान्डाले रावान्डालाई नौ विकेटले हरायो ।
युगान्डा पहिलो पटक विश्वकपमा पुगेको हो । अफ्रिका छनोटबाट यसअघिनै नामिबियाले विश्वकपमा स्थान बनाई सकेको छ । जितको लागि ६६ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले ८.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । जितसँगै युगान्डाले ६ खेलबाट १० अङ्क बनायो । नामिबियाले यसअघि एक खेल अगावै १० अङ्क बनाउँदै विश्वकपमा स्थान बनाएको थियो ।
टेस्ट टोली जिम्बावेलाई भने यसअघि नामिबिया र युगान्डासँगको हार महँगो बनेको छ । युगान्डाको छनोटसँगै सन् २०२४ को जुन महिनामा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा सहभागी २० वटै टोलीको टुङ्गो लागेको छ ।
टी–२० विश्वकपमा आयोजक अमेरिका र वेस्टइन्डिजसँगै अष्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान, नामिबिया र युगान्डा छन् ।
नेपालले गत महिला घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विश्वकपमा दोस्रो पटक स्थान बनाएको थियो । नेपालले यसअघि सन् २०१४ को विश्वकप खेलेको थियो । एजेन्सी