• १५ मंसिर २०८१, शनिबार

भूकम्प पीडितलाई १२ क्विन्टल तरकारी

blog

भूकम्प पीडितका लागि कोहलपुरमा सङ्कलन गरिएको तरकारी। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १४ गते। जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि बाँकेको कोहलपुरबाट १२ क्विन्टल तरकारी सङ्कलन गरेर सहयोग स्वरूप पठाइएको छ। पीडितका लागि अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति बाँकेको पहलमा दैनिक रूपमा प्रयोग हुने तरकारी सङ्कलन गरेर राहतस्वरुप भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो।

कोहलपुर कृषि बजार समितिका व्यापारीले संयुक्त रूपमा हस्तान्तरण गरेको १२ क्विन्टल विभिन्न प्रकारको तरकारी लिएर आफ्नो टिम जाजरकोट हिँडेको अनेरास्ववियु (क्रान्तिकारी) बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभयो। 

अध्यक्ष बस्नेतका अनुसार कोहलपुर कृषि बजारमा व्यवसाय गर्दै आउनुभएका १४ जना व्यवसायीले संयुक्त रूपमा १७ बोरा आलु, ३ बोरा काउली, १ बोरा टमाटर, १ बोरा फर्सी, २ बोरा बन्दा, ३ पेटी स्याउसहित खुर्सानी, अदुवालगायत तरकारीजन्य खाद्यान्न उपलब्ध गराएका थिए। 

उहाँले राहत सामग्री शुक्रबार बेलुकासम्म भूकम्प पीडितलाई वितरण गर्ने तयारी गरिएको जनाउँदै त्यहाँ पुगेर फर्किएपछि पीडितलाई आवश्यक परेको अन्य सामग्री पनि पुर्‍याउने पहल गरिने बताउनुभयो। 

जाजरकोट र पश्चिम रुकुम जान आउन नेपालगन्जबाट सहज भएकोले देशका विभिन्न ठाउँबाट सङ्कलन भएको र भारत लगायतका विदेशी राष्ट्रबाट आएको राहत सामग्रीसमेत नेपालगन्जबाटै भएर पठाइएको थियो।

नेपालगन्जको राँझा विमानस्थलमा सरकारले राहत सङ्कलन केन्द्र नै स्थापना गरेर सोही सङ्कलन केन्द्रबाट विभिन्न प्रकारका राहत पठाउँदै आएको छ।