• १२ असार २०८१, बुधबार

सैन्य सामग्री प्रदर्शनीमा विद्यार्थीको चाख

blog

अवलोकन गर्दै विद्यार्थी ।

जानकी -बाँके_, मङ्सिर १४ गते । नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन, २०८० सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि १२ गतेसम्म सेनाको बज्रदल गणले बाँके र बर्दियाका १७ विद्यालयका विद्यार्थीका लागि लक्षित गरी यहाँ प्रदर्शनी आयोजना गरेको थियो । 

प्रदर्शनीमा विभिन्न सैन्य सामग्री राखिएको थियो । विद्यालयको शैक्षिक अवस्था, खेलमा उत्कृष्ट नतिजा, एसइइको नतिजा, भौतिक संरचनालगायत विद्यालयको समग्र गुणस्तरका आधारमा विद्यालय छनोट गरी प्रदर्शनीमा सहभागी गराइएको वज्रदल गणका गणपति एवं प्रमुख सेनानी रबिन श्रेष्ठले बताउनुभयो । प्रदर्शनी करिब नौ सय विद्यार्थीले अवलोकन गरेका थिए । 

प्रमुख सेनानी श्रेष्ठले विद्यार्थीलाई सेनाका क्रियाकलापबारे अवगत गराउने उद्देश्यले सेनासम्बन्धी सामग्रीको प्रदर्शन गरिएको बताउनुभयो । “यस्ता कार्यक्रम हामीले विगतका वर्षदेखि गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थीमा भएको सेनाप्रतिको उत्सुकता, दृष्टिकोण र सेनाको अनुशासनबारे बुझाउन प्रदर्शनी आयोजना गरिएको हो ।” प्रदर्शनीमा सेनाका ऐतिहासिक पोशाक, एनसिसिको महत्व, विपद्सम्बन्धी सामग्री, उद्धारमा प्रयोग गरिने सामग्रीलगायत राखिएको थियो । यी विषयमा विद्यार्थीले अभिरुचिपूर्वक अवलोकन गर्दै सेनासम्बन्धी थप जानकारी लिन उत्सुक देखिएका पनि उहाँले जानकारी दिनुभयो । रासस