• १५ मंसिर २०८१, शनिबार

लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना अभियान

blog

सचेतना अभियानको प्रतिबद्धतामा हस्ताक्षर गर्दै ।

मीना काडेल

कावासोती, मङ्सिर १४ गते । नवलपुरमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान २०८० को अवसरमा सचेतनामूलक कार्यक्रम गरिएको छ । "लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालिकामा लगानीको ऐक्यवद्धता”नारा सहित बालबालिकामा राम्रो छुवाइ र नराम्रो छुवाइसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो । 

किशोरीहरूले लगानीको सुनिश्चितता र प्राथमिकताले मात्र हिंसा अन्त्य गर्न सकिने बताएका छन् । कावासोती नगरपालिका वडा नं १ रिठ्ठेपानीमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय होस वा अन्य ठाउँमा आफूलाई कस्तो व्यवहार हुने गरेको छ र त्यसमा राम्रो नराम्रोको बारेमा सचेत गराइएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा यसको आवश्यकता, वर्तमान समयमा महिला र बालिकाको अवस्था, हिंसा न्यूनीकरणमा आमा समूहले भूमिका निर्वाह गर्नुपर्ने कारणहरूसहित वर्तमान तथ्याङ्क अनुसार नेपालमा हिंसाको अवस्थाको बारेमा बिद्यार्थीलाई जानकारी गराइएको अधिकारकर्मी राधादेवी बोटेले बताउनुभयो ।

बालबालिकाहरुलाई हिंसा तथा दुर्व्यवहार भनेको के हो ? राम्रो छुवाई र नराम्रो छुवाइ भनेको के हो? हिंसा तथा दुर्व्यवहार कहाँकहाँ, को बाट र कसरी हुन्छ ?, हिंसा तथा दुर्व्यवहार पर्यो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ र हटलाइन नम्बरहरु केके हुन् ? हिंसा र दुर्व्यवहारबाट कसरी सुरक्षित हुने र उपाय केके हुन सक्छन् ? भन्ने विषयमा विद्यालय स्तरबाट नै सिकाइ हुनुपर्ने भएकाले आफ्नो विद्यालयका विद्यार्थीलाई सचेत गराएको शिक्षिका शकुन्तला पराजुलीले बताउनुभयो । कार्यक्रममा सहभागीहरूले म हिंसा गर्दिन, गरेको पनि सहन्न, हिंसा गरेको पाएमा उजुरी गर्नेछु भन्ने ऐक्यबद्धतासहित प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरिएको छ ।

लैङ्गिक हिंसाको न्यूनीकरण गर्न चेतनाको विकास गरी हरेक जनस्तरमा जागरुकता फैलाउन नवलपुरका विद्यालयमा र गाउँगाउँ पुगेर पम्पलेट वितरण गर्नै, अन्तर्क्रिया गर्ने  गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला सेलका प्रमुख बिन्दु विकले बताउनुभयो । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलान स्विजरल्याण्डको सहयोगमा जिल्लाका विभिन्न स्थानमा सचेतनाका कार्यक्रम हुँदै आएको छ ।