• १५ मंसिर २०८१, शनिबार

जीवनोपयोगी सिप : विद्यार्थीले बनाए च्याउखेतीका लागि टनेल‍

blog

विद्यार्थीले निर्माण गरेको च्याउखेती गर्ने टनेल । तस्विर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, मङ्सिर १४ गते । कोहलपुर नगरपालिका २ को शिवशक्ति आधारभूत विद्यालयका बालबालिकाले च्याउखेतीका लागि टनेल निर्माण गरेका छन् । कोहलपुर नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम हाम्रो कोहलपुर अन्तर्गत कक्षा ६, ७ र ८ मा अध्ययनरत बालबालिकाले पुस्तकमा सिकाइएको आधारमा च्याउखेती गर्नका लागि टनेल निर्माण गरेका हुन् ।

शिवशक्ति आधारभूत विद्यालयका प्रानाध्यापक बद्री सापकोटाले बालबालिकालाई समूहगत जिम्मेवारी दिई पाठ्यभारले तोकेको सिकाइ उपलब्धि हासिल गर्न तरकारीको बिउ रोप्नुका साथै च्याउका लागि टनेल निर्माण गरिएको बताउनुभयो । उहाँले बालबालिकाहरुलाई जीवनाेपयोगी सिप प्रदान गनुपर्नेमा जोड दिँदै गत वर्षबाट लागु गरिएको स्थानीय पाठ्यक्रमकै आधारमा च्याउ उर्मादा के के आवश्यक पर्छ ? सागसब्जी लगाउँदा के के गर्नुपर्छ ? बिउबिजन राख्दा ध्यान दिनुपर्ने विषयहरुलाई विस्तृत रुपमा सिकाइएको बताउनुभयो । 

नगरपालिकाद्धारा निर्माण गरिएको स्थानीय पाठ्यक्रम निकै उपयोगी र व्यावहारिक भएको जनाउँदै प्रधानाध्यापक सापकोटाले यस्ता पाठ्यक्रमले स्थानीय कला संस्कृति र सम्पदाबारे जानकारी पाउन सहज हुनुका साथै उत्पादन लगायतका सिप सिक्न पनि सहज हुने बताउनुभयो । उहाँले गत वर्ष पनि सोही पाठ्यक्रम अनुसार च्याउखेती गरेर विद्यार्थीहरुले १५ हजार रुपियाँ आम्दानी गर्न सफल हुनुका साथै अन्य विभिन्न तरकारी पनि उत्पादन गरेर प्रदर्शनी गरिएको बताउनुभयो । 

एक विद्यार्थी एक बिरुवा अभियान अन्तर्गत विद्यालयका बालबालिकालाई गोभीको १५०, खुर्सानीको २५० र टमाटरको १०० वटा बिरुवा  वितरण गरिएको विद्यालयले जनाएको छ । अभिभावक दीपक पौडेलले स्थानीय पाठ्क्रम निकै राम्रो र उपयोगी देखिएको जनाउँदै विद्यार्थीलाई जीवनाेपयोगी सिप सिकाएर पढाइसँगै आम्दानी गर्ने बाटो पनि देखाउने गरेको बताउनुभयो । उता, कोहलपुर नगरपालिकाले भने स्थानीय पाठ्यक्रमले विद्यार्थीको पठनपाठनमा उल्लेख्य सुधार भएको जनाउँदै सो पाठ्क्रम निकै प्रभावकारी देखिएको जानकारीहरु प्राप्त भइरहेको जनाएको छ । 

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले स्थानीय पाठ्यक्रमलाई राम्रोसँग लागु गरेका विद्यालयका बालबालिकाले फलफूल खेती, च्याउखेती र करेसाबारी उत्पादनका सम्बन्धमा राम्रो प्रयोगात्मक ज्ञान र सिप पाई खेती गर्न सक्षम भएको बताउनुभयो । उहाँले स्थानीय पाठ्यक्रम अनुसार अगाडि बढ्न नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुलाई आग्रह गर्नुभएको छ ।