• १२ असार २०८१, बुधबार

ज्ञानलाई प्रविधिमा रूपान्तरण गर्दै विद्यार्थी

blog

महोत्सवमा प्रविधि प्रदर्शन गर्दै विद्यार्थी। तस्बिः छविलाल पाण्डे।

छविलाल पाण्डे 

बुटवल, मङ्सिर १४ गते। विद्यालयमा सिकेको ज्ञान प्रविधिमा रूपान्तरण गर्दा रुपन्देहीको सैनामैनाका विद्यार्थीले बधाईमात्र पाएका छैनन्, अझै लगनशील हुन प्रेरणा पनि बटुलेका छन्। रुपन्देहीको सैनामैनामा जारी राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवमा सैनामैनाका विद्यार्थीले विभिन्न प्रविधि प्रदर्शन गरेका छन्। महोत्सवमा आउने दर्शकले विद्यार्थीले बनाएका प्रविधि अवलोकन गरेर विद्यार्थीलाई अझै राम्रो गर्न उत्साहित गरेका छन्।  

विद्यार्थीले गरेको प्रविधि प्रदर्शनले महोत्सवमा छुट्टै रौनक र आकर्षण थपेको छ। सैनामैना नगर क्षेत्रका सामुदायिक र संस्थागत गरेर ९ वटा विद्यालयका विद्यार्थीले महोत्सवमा दर्शकको ध्यान तानेका हुन्। महोत्सव प्रवेशको सुरुमै लहरै राखिएका स्टल र ती स्टलमा झुम्मिएका विद्यार्थीले महोत्सव अवलोकन गर्न आएका दर्शकलाई स्टल हेर्न बाध्य बनाउने गरेका छन्। 

विद्यार्थीले विद्यालयमा सिकेको ज्ञान र सिपलाई महोत्सवमा प्रयोग गरेरै देखाएका छन्। आफूहरूले बनाएको प्रविधिका विषयमा सैनामैना मुर्गियामा रहेको प्रभात बोर्डिङ स्कुलका विद्यार्थी आविष्कार खनालले बताउनुभयो।

विद्यार्थीहरूले रोबोट, मोबाइल सिस्टमबाट घरको सुरक्षा, पानी जहाज, ब्याट्रीबाट चल्ने मोटर, पानी तान्ने प्रविधि, अटोमेटिक डष्टविन, सोलार सिस्टमलगायत आफूहरूले बनाएका प्रविधि प्रदर्शन गरेका छन्। 

विद्यार्थीले विद्यालयमा सरले सिकाएको कुरालाई प्रयोगात्मक रूपमा परीक्षण गरेर महोत्सवमा देखाएको बताएका छन्। ग्यालेक्सी बोर्डिङ स्कुलका श्याम भट्टराई आफू लगायत आफ्नो टिमले बनाएका विभिन्न प्रकारका प्रविधि प्रोजेक्टहरू महोत्सवमा देखाएको बताए। आफूहरूले बनाएको प्रविधिका विषयमा जानकारी दिँदै विद्यार्थी श्याम भट्टराईले अझै प्रगति गर्दै जाने बताए।  

श्यामले जस्तै देवयानी गौतमले पनि आफ्नो टिमले बनाएको प्रविधि महोत्सवमा प्रदर्शन गरेकी छिन्। सुनगाभा बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीले बनाएको प्रविधिले पनि महोत्सवको आकर्षण बढाएको छ। उनीहरूले पनि अरू विद्यालयका विद्यार्थीले जस्तै विद्यालयमा सिकेको प्रविधियुक्त ज्ञानलाई प्रोजेक्टमा परिणत गरेका छन्। 

उता सैनामैनाको सैनामैना मेमारेरियल बोर्डिङ स्कुलका विद्यार्थीहरूले पनि विद्यालयमा सिकेको ज्ञानलाई प्रोजेक्टका माध्यमबाट महोत्सवमा प्रदर्शन गरेर महोत्सवको आकर्षण बढाएका छन्। 

न्यु एकेडेमी बोर्डिङ स्कुलका शिक्षक नवराज भुसालले विद्यार्थीले बनाएका प्रविधि प्रोजेक्टका माध्यमबाट दर्शकलाई देखाएको र यसबाट विद्यार्थीमा उत्साह थपेको बताउनुभयो। 

विद्यार्थीले मेहनत गरेर बनाएको प्रविधिलाई महोत्सवमा प्रदर्शन गरेर दर्शकलाई देखाउन पाउँदा उनीहरूमा हौसला र उत्साह बढेको महोत्सव आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेमबहादुर खड्काले बताउनुभयो।