• १२ साउन २०८१, शनिबार

कांग्रेस पदाधिकारीबिच महासमिति बैठकबारे छलफल

blog

अर्थमन्त्री समेत रहनुभएका कांग्रेस नेता डा. प्रकाशशरण महत

काठमाडौं, मङ्सिर १३ गते । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा आसन्न महासमितिको बैठकको तयारी सम्बन्धमा छलफल भएको छ ।

अर्थमन्त्री समेत रहनुभएका कांग्रेस नेता डा. प्रकाशशरण महतले जारी बैठकमा महासमिति बैठकको तयारीसँगै जाजरकोट र रुकुमपश्चिम क्षेत्रका भूकम्प प्रभावितलाई चाँडोभन्दा चाँडो अस्थायी आवास निर्माण गर्ने तथा राहत वितरण गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा बुधबार दिउँसो बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी तथा दीर्घकालीन पुनर्निर्माणका लागि सुरुदेखि नै गम्भीरताका साथ कार्य गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “महासमिति बैठकबारे छलफल भयो । जाजरकोट, रुकुमपश्चिम र त्यहाँको राहत, उपचार, अस्थायी बसोबास, दीर्घकालीन पुननिर्माणको विषयमा नेपाली कांग्रेसले सुरु देखि नै गम्भीरताका साथ काम गर्‍यौँ । पार्टीको तर्फबाट विभिन्न सुझावहरू सरकारलाई प्रभावकारी बनाउन दिएका हौँ । प्रभावितलाई सहयोग पुर्‍याउन विभिन्न जानकारी दिएका छौँ । अर्थतन्त्रको बारेमा समग्रमा सरकारमा बसेर के गर्दैछौं ।”

उहाँले महासमितिको बैठकलाई कसरी भव्य तरिकाले सम्पन्न गर्ने, जनसरोकार तथा समसामयिक विषय र राष्ट्रिय महत्वका विषयमा सुस्पष्ट ढङ्गबाट प्रस्तुत एवम् छलफल गर्ने गराउने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । यस लगायत विविध शीर्षकसहितको कार्यपत्र तयारी सम्बन्धमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कहाँ कसरी अगाडि बढिरहेको छ भनेर छलफल गर्नुभएको उहाँको भनाइ छ ।

भूकम्प प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो अस्थायी आवास बनाउन सरकारले थप सेना, पुलिस, प्रशासन पेरिफेरिको जिल्लालाई परिचालन गरी सघाउको काम चाँडो सम्पन्न गर्ने उल्लेख गर्दै उहाँले सहयोगका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको बताउनुभयो ।

महासमिति बैठकको विषयवस्तुबारे केन्द्रीय कार्य सम्पादन समितिको बैठक र केन्द्रीय कार्य समितिको बैठक बसेर अन्तिम रूप दिइने उहाँको भनाइ छ ।

वर्तमान व्यवस्था परिवर्तन गर्न सडक तातिरहेको छ नि भन्ने जिज्ञासामा उहाँले जनताबाट स्थापित प्रणाली कमजोर नभएको र यसको पक्षमा ठुलो जनमत रहेको भनाइ राख्नुभयो ।