• १२ साउन २०८१, शनिबार

डा. पौडेललाई कारबाही गर्न निर्देशन

blog

काठमाडौँ, मङ्सिर १३ गते । निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलमाथि आवश्यक कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । डा. पौडेल राजनीतिक दलको सदस्य र दलसम्बन्धी जनसङ्गठनको महासचिव पदमा क्रियाशील रहेको उजुरी परेपछि आयोगले कारबाहीका लागि मन्त्रालयलाई पत्राचार गरेको हो । 

आयोगका उपन्यायाधिवक्ता टेकराज भुसालले डा. पौडेलमाथि परेको उजुरीबारे निर्णय लिन मन्त्रालयलाई पत्राचार गर्नुभएको हो तर मन्त्रालयलाई पत्राचार गर्दा छानबिनका क्रममा आयोगले फेला पारेको तथ्य तथा अनुसन्धानको निस्कर्षबारे केही खुलाइएको छैन । 

राजनीतिक दलसम्बन्धी ऐनमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेका व्यक्ति दलको सदस्य हुन नहुने व्यवस्था छ । त्यसै गरी नेपाल स्वास्थ्य सेवा ऐनमा कुनै पनि कर्मचारीले नेपाल सरकारको पूर्वस्वीकृति लिई प्रचलित कानुनबमोजिम दर्ता भएको पेसागत संस्थाबाहेक अन्य कुनै पनि प्रकारको संस्थाको सदस्य बन्न नहुने व्यवस्था छ । 

कार्यकारी निर्देशक डा. पौडेल नेकपा (एमाले) को सदस्य तथा सो दल सम्बद्ध जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका महासचिव रहेको उजुरी परेको थियो । नेपाल सरकारबाट नियुक्त डा. पौडेल दलको सदस्य र जनसङ्गठनको पदाधिकारी रहेकोले गत असारमा कारबाहीको माग गर्दै उजुरी परेकोमा आयोगले छानबिन गरेको थियो । 

डा. पौडेलबारे आयोगले छानबिनका क्रममा उहाँ सम्बद्ध दाबी गरिएको दल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्कर्मी महासङ्घसँग जवाफ माग गर्दा महासङ्घले जवाफ पठाएको छैन ।