चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १२ गते । पहिचान पक्षधरले आह्वान गरेको बन्दका कारण यातायात ठप्प हुँदा यात्रु मारमा परेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको मागसहित पहिचान पक्षधरले आह्वान गरेको यातायात बन्दका कारण मेची राजमार्गमा यातायात सञ्चालन नहुँदा यात्रु मारमा परेका हुन् ।
मङ्गलवारका लागि यातायात बन्द आह्वानपछि मेची राजमार्गमा बिहानैदेखि सवारी साधन चल्न सकेका छैनन् । प्रदेशको कोशी नामाकरणविरुद्ध प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति र पहिचानसहितको प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समितिले बन्द आह्वान गरेका हुन् । बन्द आह्वानपछि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन नहुँदा यात्रु मारमा परेका छन् ।
यातायात बन्द भएपछि ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम, झापा, मोरङ, सुनसरी लगायतका ठाउँमा जानलाई टिकट काटेका यात्रु सदरमुकाम फुङ्लिङमै अलपत्र परेका छन् । स्थानीय (ग्रामीण) क्षेत्रमा सञ्चालन हुने सवारी साधनसमेत नचल्दा यात्रु गन्तव्यमा जान नपाएका फुङ्लिङस्थित एक टिकट बुकिङ काउन्टरका सञ्चालक भीषण लिम्बूले बताउनुभयो ।
लिम्बूका अनुसार यातायात बन्द भएपछि अत्यावश्यक कामका लागि यात्रा गर्न लागेका यात्रु बढी मारमा परेका छन् । गन्तव्यमा जान अर्थात् यात्रा गर्न नपाएका यात्रु कतिपयले बुधबारका लागि पुनः टिकट कायम राखेका छन् भने केहीले टिकट फिर्ता गरेका उहाँले जानकारी दिनुभयो । काउन्टर सञ्चालकका अनुसार बुधबार पनि यातायात सञ्चालन हुने नहुनेमा अन्यौलता छ ।
नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई कालो झण्डा देखाउनुका साथै भट्टराई सवार गाडी तोडफोड गरेको आरोपमा पहिचान पक्षधर कार्यकर्ता विपिन कङ्लिवा लिम्बू र आनन्द कङ्लिबा लिम्बूलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका लिम्बू द्वयलाई बिनासर्त रिहाइ गर्नुपर्ने भन्दै पहिचान पक्षधर समूहले यातायात बन्दसहित विभिन्न पाँच बुँदे माग राखेको छ ।
पहिचान समूहले कार्यकर्ता रिहाइ र माग पुरा नगरे अझ सशक्त आन्दोलनको घोषणा गर्ने पनि सोमबार प्रकाशित विज्ञप्तिमार्फत चेतावनी दिएका छन् । यता पहिचान पक्षधरबाट गरिएको बन्द आह्वानका कारण यातायातका साधन नचले पनि अन्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
पूर्वमन्त्रीसमेत रहनुभएका भट्टराई एमाले जिल्ला कमिटीले चाडपर्वहरूको अवसर पारेर आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन गृह जिल्ला ताप्लेजुङ आउनुभएको थियो । उक्त दिन भट्टराईलाई कालो झण्डा देखाउने क्रममा पहिचान पक्षधर र एमालेका कार्यकर्ताबिच झडपसमेत भएको थियो ।