अविनाश चौधरी
धनगढी, मङ्सिर १२ गते । धनगढी उपमहानगरपालिकामा रहेका निजी अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार हुने भएको छ ।
स्थानीय सरकारको सिफारिसका आधारमा निजी अस्पतालमा त्यस्ता बिरामीहरूको निःशुल्क उपचार हुने भएको हो । यसका लागि धनगढी उपमहानगरपालिकाको कार्यालय र निजी अस्पतालहरूको छाता सङ्गठन अफिनबिच आज निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा सहमति भएको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र अफिन सुदूरपश्चिम प्रदेशका अध्यक्ष तीर्थराज पन्तले हस्ताक्षर गरेर समझदारी पत्र साटासाट गर्नु भयो । निःशुल्क उपचार सेवा लिनका लागि व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्ने र वडाको सिफारिसको आधारमा धनगढी उपमहानगरपालिकाको कार्यालयले निःशुल्क उपचार गर्नका लागि अस्पताललाई पत्र लेखी पठाउने प्रमुख हमालले जानकारी दिनुभयो । तर आकस्मिक सेवाका लागि आएका लक्षित वर्गलाई सिफारिस नभए पनि सम्बन्धित अस्पतालले प्राथमिक उपचार निःशुल्क प्रदान गर्ने जनाइएको छ । थप उपचारका लागि भने सिफारिस माग गर्नु पर्ने प्रमुख हमालले बताउनुभयो ।
लक्षित वर्गलाई निःशुल्क सेवा दिनका लागि अस्पतालहरूले रहेका कुल शय्यामध्ये १० प्रतिशत शय्यामा निःशुल्क शय्या भनी लेख्नु पर्नेछ । सिफारिस लिएर आएका बिरामीलाई अस्पतालले चिकित्सक परामर्श सेवा, नर्सिङ सेवा, अक्सिजन सेवा, रेडियोलोजी सेवा, प्याथोलोजी सेवा निःशुल्क दिनु पर्नेछ ।
यसैगरी, सम्पूर्ण औषधिमा १० प्रतिशत छुट दिने र अस्पतालले मासिक रूपमा निःशुल्क उपचार गरेको प्रतिवेदन धनगढी उपमहानगरपालिमा पठाउने सम्झौता गरिएको छ ।