• १३ मंसिर २०८१, बिहिबार

भूकम्प : रुकुम पश्चिममा मृतकका परिवारले पाए नगद

blog

त्रिवेणी (रुकुम पश्चिम), मङ्सिर ११  गते । जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप नगद वितरण गरिएको छ । कुल ४७ जना मृतक परिवारले यसअघि नै नगद प्राप्त गरे पनि कागजात मिलाउन बाँकी सात जना मृतकका परिवारले नगद प्राप्त गरेका हुन् । 

सानीभेरी गाउँपालिकाका–६ का १० मृतक परिवारलाई रु. १६ लाख, आठबीसकोट नगरपालिकाका ३७ मृतकका परिवारलाई रु. ६१ लाख, चौरजहारी नगरपालिकामा एक मृतकका परिवारलाई रु. दुई लाख, रोल्पा र बर्दियाका एकरएक जना मृतक परिवारलाई रु. चार लाख गरी कुल रु. ८३ लाख नगद वितरण गरिएको जिल्ल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लामा ५० जना मृतकका परिवारका सदस्यलाई नगद राहत उपलब्घ गराइएको हो । आठबीसकोटमा मृत्यु भएका सल्यानका तीन जनालाई भने जिल्ला प्रशासन कार्यालय सल्यानले नगद उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो । 

सङ्घीय सरकारबाट प्राप्त राहत मृतकका परिवारलाई वितरण गरिएको हो । सरकारले प्रत्येक मृतक घरपरिवारलाई रु. दुई लाखका दरले नगद राहत रकम दिइएको हो । एउटै घरमा एकजना भन्दा बढी मृत्यु भएको अवस्थामा रु. दुई लाखमा थप रु. एक लाख बढाएर नगद उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । 

सङ्घीय सरकारले मृतक परिवारलाई नगद राहत वितरणको लागि जिल्ला विपद व्यवस्थापन कोषमा रु. पाँच करोड रकम पठाएको थियो । जसमा रु. ८३  लाख  नगद राहत वितरण गरिएको छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास तथा पुनःस्थापनामा खर्च गरिनेछ । 

रुकुम पश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको थियो । त्यसमा पाँच जना जिल्लाबाहिरका  थिए । रासस