राजन रावत
हुम्ला, जेठ २ गते । सिमकोट गाउँपालिका केन्द्रदेखि नाम्खा गाउँपालिकाका विभिन्न क्षेत्रमा अब नेपालमा दर्ता भएका नेपाली नम्बर प्लेटका सवारी साधन मात्र सञ्चालन गर्न पाइने भएको छ । पर्यटन प्रवर्धनका लागि बसेको सर्वपक्षीय बैठकले निषेधित क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो ।
पर्यटकीय सिजन सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजनामा बसेको सर्वपक्षीय बैठकले निषेधित क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै ती क्षेत्रमा नेपाली नम्बर प्लेट भएका सवारी साधन मात्र सञ्चालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो ।
गत वर्ष पर्यटकीय सिजनमा भारतीय नम्बर प्लेटका गाडी र मोटरसाइकलसहित भारतीय पर्यटक नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रसम्म पुगेका थिए । त्यसबेला विरोध भए पनि औपचारिक निर्णय भने गरिएको थिएन । सीमा क्षेत्र तथा सदरमुकाम सिमकोटभन्दा माथिका क्षेत्रहरू नेपाल सरकारले नै निषेधित क्षेत्र घोषणा गरेकाले यस्तो निर्णय आवश्यक भएको उहाँले बताउनुभयो ।
निर्णय कार्यान्वयनसँगै निषेधित क्षेत्रमा जानुपरेमा नेपालमा दर्ता भएका नम्बर प्लेटका सवारी साधन मात्र प्रयोग गर्न सबै पक्षलाई आग्रह गरिएको छ ।