ललिता साह
बोदेबरसाइन (सप्तरी), मङ्सिर ११ गते । तीन वर्षअघि बेमौसमी वर्षाले अन्नपात खेतमै नष्ट भएपछि सप्तरीका पीडित किसान ऋणमा डुबेका छन् ।
विसं २०७८ कात्तिक १ बाट लगातार तीन दिन आएको वर्षाले खेतमा तयारी भइसकेको धानबाली नष्ट भएको थियो । तिलाठी, हनुमाननगर, महदेवा, अग्निसाइर कृष्णासवरण, बलान बिहुल पालिकाका हजारौँ किसान बाढीको चपेटामा परेका थिए । बटैया (उत्पादन भएको बाली आधा खेतधनीलाई दिने सर्तमा गरिने खेती) मा गरेको डेढ बिघा धानबाली पूर्ण रूपमा नष्ट भएपछि खानका लागि सयकडा तीन रुपियाँ ब्याजमा गाउँकै साहुसँग एक लाख ऋण लिएको तिलाठी कोइलाडी गाउँपालिका–५ की बाढीपीडित गीता मण्डलले गुनासो गर्नुभयो ।
“कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका श्रीमान् पनि घर बस्नु प¥यो । आफूले काम गर्दै आएको भिएसओ नेपालको रूपान्तरण कक्षा (फिल्ड प्रोजेक्ट) कोरोनाले बन्द भएपछि रोजगारी गुम्यो,” उहाँले भन्नुभयो, “देवरसँग रोजगारी छैन । ससुरा बुढो हुनुहुन्छ । आठ जनाको परिवार छौँ तर एक एक गरेर सबै बेरोजगार भए, कमाउने कोही भएनन् ।” वर्षभरि मेहनत गरी लगाएको बाली बाढी र वर्षाले उब्जाएको अन्न पनि खेतमै नष्ट भएको उहाँले बताउनुभयो । देवरानी सुत्केरी भएपछि बच्चाको जटिल अवस्था भएर दुई महिना आइसियुमा राख्नु परेपछि थप तीन लाख रुपियाँ ऋण लिएको उहाँले उल्लेख गर्नुभयो ।
खानका लागि मात्रै नभई परिवारमा आइपरेका सानादेखि ठुला समस्या टार्न पनि ऋणकै भर पर्नु परेको र गाउँकै साहु सिंहसँग लिएको एक लाख ऋणको ब्याज मात्रै ५७ हजार रुपियाँ तिरिसके पनि अझै ७५ हजार रुपियाँ तिर्न बॉकी रहेको गीताका ७० वर्षीय ससुरा भुवनेश्वर मण्डलले सुनाउनुभयो । सहकारीको थप तीन लाख रुपियाँ ऋणको भारीले अझै थिचिँदै गएको उहाँले दुःखेसो पोख्नुभयो ।
यसरी वर्षभरि खाने मुख्य धानबाली नष्ट भएपछि यहाँका धेरै परिवारमा भोकमरीको चिन्ताले सताएको छ । कोइलाडी टोलका मात्रै चार दर्जनभन्दा बढी किसानको घरपरिवारले भोकमरी समस्याबाट जुझ्न साहु, वित्तीय संस्था र बैङ्कहरूबाट लिएको ऋण तिर्न नसकेको कोशीपीडित समाजका ग्रामीण परिचालक त्रिवेणी यादवले जानकारी दिनुभयो ।
बाढीपश्चात् वडा कार्यालयले क्षतिको विवरण लिएर गए पनि कुनै राहत उपलब्ध नगराएको पीडित किसान बताउँछन् । “जलवायु परिवर्तनको प्रभावले यस्ता बेमौसमी वर्षा, बाढी, हुरी, अतिवृष्टिलगायतका प्राकृतिक प्रकोप ल्याउने गर्छ । यसले किसानलाई धेरै नै नोक्सानी गरेको थियो,” कृषिविज्ञ डा. श्रीभगवान् ठाकुरले भन्नुभयो, “कतिपय अवस्थामा प्राकृतिक विपत्ले गरेको नोक्सानी राज्यको स्रोतसाधनले भ्याउनेभन्दा धेरै भयावह हुन सक्ने भएकाले यस्ता विपत् आउनबाट रोक्न सावधानी र सचेतना अपनाउनु पर्छ ।”