• ९ जेठ २०८१, बुधबार

कुमालगाउँमा खानेपानीको समस्या

blog

प्रनिश गिरी

कुश्मा-पर्वत मङ्सिर १० गते । पर्वतको विहादी गाउँपालिकामा रहेको रानीपानीको कुमालगाउँले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएको छ । पालिकाको वडा ३ मा पर्ने कुमालगाउँका एक सय घरपरिवार खानेपानीको समस्याले पिरोलिँदै आउनुपरेको वर्षौँ भैसकेको छ । 

पालिकाको वडा ३ मा पर्ने रानीपानीको पाखाथर, थारार, थुम्केली, कोखेलथर, तीनघरे भन्ने स्थानहरू कुमाल जातिको बाक्लो बस्ती रहेको क्षेत्र हो । जहाँका कुमालहरू अधिकांश खेतीपातीमा आश्रित भई जीवन निर्वाह गर्दै आएका छन् । कुमालबस्तीमा केही वर्ष पहिले १०-१५ घर परिवार बरावर एक धारा भनी बनाइएका पुराना धाराहरू देखिन्छन् । धारा वरिपरि रित्ता गाग्री लाम लागेर राखेको देखिन्छ । धारामा राम्ररी पानी झर्न छाडेको वर्षौँ भैसकेको छ ।

कुमालगाउँ भन्दा केही माथि पर्ने कुलबाधबाट पाइप बिच्छाएर खानेपानी ल्याइने गरिएको थियो । कुलबाधको पानी त्यही आसपासको टारी खेतमा सिँचाइ गर्न थालेपछि कुमालगाउँमा खानेपानीको अभाव हुन थालेको वडा अध्यक्ष गणेश प्रसाद पराजुलीको भनाइ छ ।

स्थानीय ६८ वर्षीय सुभद्रा कुमाल खानेपानीको समस्याबारे दुखेसो पोख्दै भन्नुहुन्छ, “घरको नजिकै करेसाबारीमा हिउँदमा हरियो सागसब्जी लगाउन नपाएको पनि वर्षौँ भयो । बेमौसमी तरकारी लगाउने दुईवटा टनेल पनि ल्याएर राखेकी छु । पानी धारामा बिहान एकपटक दुई गाग्री भन्दा बढी आउँदैन । पानी भएदेखि तरकारी लगाउन हुने थियो ।” 

स्वास्थ्य स्वयंसेविका समेत रही सकेकी क्यान्सर बिमारबाट पीडित कुमालले छोराछोरी घर बाहिर रहेका बुढाबुढी मात्रै घरमा हुने कुमाल परिवारलाई धारामा पानी नआउने समस्याले झनै पिरोलेको बताउनुभयो । घरमा पालेका गाईभैसी र बाख्रालाई पिलाउने पानी समेत नभएको भनी स्थानीयबासीले पीडा पोखेका छन् । कुमालगाउँका स्थानीय युवा दिलीप बहादुर कुमाल जो वैदेशिक रोजगारीको सिलसिलामा कतार बस्नुहुन्छ । यतिखेर घर आउनुभएका युवा कुमाल खानेपानीको व्यापक समस्याबारे गुनासो गर्दै भन्नुहुन्छ, “दिनभरमा धारामा थापेको दुई गाग्री पानी पिउनका लागि नै पुग्दैन । सरसफाइ गर्न र अन्य कामका लागि पानी नै हुँदैन । पानी ल्याउने भनी जनप्रतिनिधिले लिफ्ट खानेपानी योजना र डिप बोरिङ खानेपानी योजना ल्याउने भन्ने सुनिन्छ तर योजना कहिले पुरा हुने हो थाहै छैन ।”  

वडा अध्यक्ष पराजुलीले कुमालगाउँको खानेपानी समस्या रहेको कुरा स्वीकार गर्नुहुन्छ । उहाँले कुमालगाउँमा निर्वाहमुखी खानेपानी सुविधा रहेको बताउँदै भन्नुभयो, “कुमाल गाउँमा खानेपानीको व्यवस्थाका लागि पालिकाले १ करोड ५० लाखको डिम बोरिङ खानेपानी आयोजना ल्याउँदै छ । यसबाट अनुमानित २ सय धाराबाट खानेपानीको वितरण हुन्छ ।”