• १२ साउन २०८१, शनिबार

नियात्रा सङ्ग्रह ‘ससुरालीदेखि सुस्तासम्म’ विमोचन

blog

नियात्रा सङ्ग्रह विमोचन कार्यक्रममा सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, मङ्सिर १० गते । साहित्यकार विनोद नेपालको नियात्रा सङ्ग्रह ‘ससुरालीदेखि सुस्तासम्म’ विमोचन गरिएको छ । नेपालको नियात्रा सङ्ग्रह वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले विमोचन गर्नुभयो । 

वरिष्ठ साहित्यकार शर्माले कृतिका लेखक आधा शताब्दीदेखि साहित्य क्षेत्रमा लागेका एक सफल साधक रहेको उल्लेख गर्नुभयो । कृतिमा देशको एउटा सचेत नागरिकका अभिव्यक्ति समेटिएको उहाँले बताउनुभयो । 

कृतिमाथि समीक्षा गर्नुहुँदै समीक्षक आख्यानकार तथा समालोचक डा. शङ्करप्रसाद गैरेले कृति प्रकाशन हुनु र सन्तान जन्मिनु उस्तै रहेको टिप्पणी गर्नुभयो । कृतिमा समाविष्ट विषयवस्तुले लामा यात्राहरू मात्र नभई छोटा यात्राहरू पनि महत्त्वपूर्ण हुन्छन् भन्ने सन्देश दिएको उहाँले बताउनुभयो ।

कृतिकार विनोद नेपालले बैङ्किङ सेवाबाट अवकाश लिएपछि घुमफिर पनि बढेको र नियात्रा साहित्यतर्फ आफूले कलम चलाएको बताउनुभयो । वि.स. २०३५ सालदेखि साहित्यमा कलम चलाउन थाल्नुभएका नेपालले ‘देशपरदेश’ नियात्रासङ्ग्रह (२०७६), ‘गोदान’ लघुकथासङ्ग्रह (२०७७), ‘हल्लै हल्लाको देश’ कवितासङ्ग्रह (२०७८) र ‘ससुरालीदेखि सुस्तासम्म’ (२०८०) गरी चार वटा एकल कृतिहरू प्रकाशन गरिसक्नुभएको छ ।