यादवराज पुरी
रौतहट, मङ्सिर ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य प्रदेशको तुलनामा मधेशमा सङ्गठन कमजोर देखिएकाले त्यसलाई मजबुत बनाउन सङ्गठन निर्माणमा लागेको बताउनुभयो ।
रौतहटको विभिन्न कार्यक्रममा सहभागी हुन शनिवार बिहान चन्द्रनिगाहपुर आइपुग्नु भएका सभापति लामिछानेले चन्द्रपुर नगरपालिका–४ मा रास्वपा चन्द्रनिगाहपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।
कार्यक्रममा सञ्चारकर्मीले राखेका प्रश्नको जवाफ दिनुहुँदै सभापति लामिछानेले सङ्गठन निर्माणलाई प्राथमिकतामा राखेर सात दिने अभियानमा मधेश प्रदेश प्रवेश गरेको बताउनुभयो । पार्टी रणनीतिकरुपमा मधेश केन्द्रित भएको प्रष्ट पार्नुहुँदै उहाँले नेता भ्रष्ट भएको कारण व्यवस्था नै खराब भएको भन्ने जनताले बुझेका रहेछन् भन्ने उदाहरण गत ७ गते काठमाडौँमा उत्रिएका जनताले पेस गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मुलुकमा विद्यमान आर्थिक मन्दी तथा बैङ्क, सहकारी र लघुवित्त जस्ता वित्तीय संस्थाको चर्को ब्याजका सिकार भएका जनताले व्यवस्थाको विरोध गर्नु, आफ्ना कुरा राख्नु, आन्दोलन गर्नु भनेको प्रजातान्त्रिक मुलुकमा जनअधिकारको प्रयोग गर्नु हो । संविधान संवत् हो ।”