रमेश विश्वकर्मा
गुल्मी, मङ्सिर ९ गते । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा गरी आज (शनिबार)देखि सम्मेलन सुरु हुँदै छ । उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा सो सम्मेलन तम्घासमा हुन लागेको सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनको पहिलो दिन आज उद्घाटन सत्र चिदिचौरमा भव्य सभा हुने भएको छ । यस सम्मेलनलाई कर्मकाण्डीभन्दा पनि सार्थक ढङ्गले सञ्चालन गर्न खोजिएको भन्दै सभापति पन्थीले सम्मेलनमा पार्टीको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै सङ्गठनलाई सशक्त क्रियाशील बनाउने विषयमा केन्द्रित रहेको उहाँले बताउनुभयो ।
सम्मेलनको माध्यमबाट वैचारिक छलफललाई सूक्ष्म रूपमा अगाडि बढाइने सचिव भगत सिंह खड्काले बताउनुभयो । सम्मेलनले गुल्मी कांग्रेसलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
आइतबार दोस्रो दिन बन्द सत्र तम्घासकै इन्द्रेणी पार्टी प्यालेसमा हुने अर्का सचिव जगदीश भट्टराईले बताउनुभयो । चिदिचौरमा हुने उद्घाटन सत्रको सभालाई नेपाली कांग्रेसका केन्द्रीय महामन्त्रीद्वय गगन कुमार थापा, विश्व प्रकाश शर्मा र केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, चन्द्र केसी, नैनसिंह महर, प्रदेश सभापति अमर सिंह पुन, प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नु हुने भएको छ । दोस्रो दिनको कार्यक्रममा एक हजार ७४६ क्षेत्रीय प्रतिनिधि सहभागी हुने सचिवालयले जनाएको छ ।