लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर ९ गते । जनकपुरधामका पोखरीमा पानीको मात्रा घट्दै गएको छ । पर्यावरण प्रदूषण, प्रकृतिको उच्च दोहन र विकासका नाममा भइरहेको विनाशका कारण पोखरी र जलाशयमा पानी घटेपछि त्यसको असर मानव जीवनमा देखिन थालेको छ ।
‘बाउन्न कुट्टी, बहत्तर कुण्ड’ का रूपमा परिचित जनकपुरधाममा अहिले छैनन् बहत्तर कुण्ड (पोखरी) । कतिपय पोखरी लुप्त भइसकेका छन् भने कतिको आकार सानो भएको छ । पोखरीको पानी र जमिनको अन्तरसम्बन्ध टुटेको छ । पोखरी नालाका रूपमा परिणत हुन पुगेको छ ।
धनुषा जिल्लामा रहेका जलाशयमा पानीको मात्रा विगतका वर्षभन्दा निकै कम देखिएको छ भने कलमा पर्याप्त मात्रामा पानीसमेत आउन छोडेको छ । गर्मीयाम कलमा पानी सुक्ने समस्या बढ्दै गएको चर्चा गर्दै जनकपुरधामका स्थायी बासिन्दा सञ्जय सिंहले भन्नुभयो, “अब त जाडो मौसममा पनि कलमा पर्याप्त मात्रामा पानी आइरहेको छैन । सरकारी धारा भएकाहरू त्यही पानी प्रयोग गर्छन् । दिनमा कलबाट पर्याप्त मात्रामा पानी तान्न नसकिने हुँदा राति नै पानी तान्ने गरेका छौँ ।”
भूमिगत पानीको स्तर घटेका कारण कल सुक्ने गरेको र हातले कल चलाउँदा पानी नआउने भएकाले अधिकांशले मेसिनले नै पानी तान्ने गरेको जनकपुरधाम उपमहानगरपालिका–१ की रेखा साहले बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र गङ्गा सागर, अङ्गराज सागर, धनुष सागर, दशरथ तलाउलगायतका पोखरीमा पानीको मात्र निकै कम रहेको पोखरी वरपरका बासिन्दा बताउँछन् ।
जनकपुरधामका पोखरी सुक्न थालेपछि माछालगायतका जलचर पनि मर्न थालेका छन् । केही दिनअघि पोखरीका माछा मर्न थालेपछि तत्कालका लागि पोखरीमा पोटास र चुना छरिएको थियो । माछा मर्नुका कारण पत्ता लगाउन र उक्त समस्या समाधानका दीर्घकालीन उपाय पत्ता लगाउन माछा विज्ञसहितको समितिसमेत गठन भएको छ ।
उक्त समस्या समाधानका लागि माछा विज्ञ, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक जागेश्वर यादव तथा मत्स्य मानव संसाधन विकास प्रविधि परीक्षण केन्द्र जनकपुरधामका वरिष्ठ मत्स्य विकास अधिकृत रविलाल शर्मालगायतले पानीमा अक्सिजनको मात्रा कम भएको र पानी धमिलो भएका कारण माछा मरेको दाबी गर्नुभयो ।
गङ्गा सागरमा हुने महागङ्गा आरतीका संस्थापक एवं प्रदेश सांसद रामअशिष यादवले जमिनमा पानीको स्तर घटेका कारण चौबिसै घण्टा सञ्चालनमा रहने बोरिङ पनि सुकेको बताउनुभयो ।
पर्यावरण प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनको प्रत्यक्ष असर तराई मधेशका जलाशयको सतह घट्दै पोखरीका माछासमेत मरेको जनकपुरधामस्थित भेटेरिनरी अस्पतालका प्रमुख डा. सञ्जीव ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “गत महिना पोखरीको पानीमा प्रदूषण धेरै र अक्सिजन कम भएका कारण जनकपुरधामका गङ्गा सागर अङ्गराज सागरमा रहेका माछा अचानक मरेका हुन् ।”
यस्तै प्रदेश वन निर्देशनालय मधेश प्रदेशका अधिकृत तथा पर्यावरण अभियानकर्मी सुरेश शर्माका अनुसार जलवायुमा नकारात्मक असर देखापर्नुको मुख्य कारण विकास प्रकृतिमैत्री नहुनु र दीर्घकालीन विकास नहुनु हो । विकासको नाममा अन्धाधुन्द विकास गरेर झन् विनाश भइरहेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “चुरे दोहनका कारण वर्षात्को पानी जमिनमुनि सोसिँदैन । त्यसकारण वर्षात्को पानी सबै बगेर बाहिर गइरहेको छ । खोला नालासमेत सुक्ने व्रmम पनि बढेको छ ।” छ वर्षअघि नै जनकपुरधाम उपमहानगरपालिकाबाट नयाँ निर्माण हुने घरमा कम्तीमा पनि तीन वटा बिरुवा रोप्नुपर्ने निर्णय भएको थियो तर यसको पालना भएको पाइँदैन ।