दिपकप्रसाद गौतम
वीरगञ्ज, मङ्सिर ८ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वीरगञ्जको कृषि औजार कारखानालाई सञ्चालनमा ल्याउन सके मधेशको कायापलट हुने बताउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगञ्जको होटल क्लासिक आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सभापति लामिछानेले मधेश बनाउँन पहिला यहाँको बन्द कलकारखाना सञ्चालनमा ल्याउनुपर्ने र वीरगञ्जको कृषि औजार कारखानालाई मात्र सञ्चालनमा ल्याउन सके मधेसको कायापलट हुने दाबी गर्नुभयो।
मधेस प्रदेश केवल राजनीतिक फाइदा लिने अखडा मात्रै बनाइएको आरोप लगाउदै उहाँले मधेशलाई लुट्ने सिलसिला अझै जारी नै रहेको हालसम्म नरोकिएको जिकिर गर्नुभयो।
उहाँले भन्नुभयो ‘‘मधेश त केवल नेता बनाउँने कारखाना हो, मधेशले धेरै नेता जन्माएको छ।तर त्यसको उपलब्धि अहिलेसम्म मधेशले पाएको छैन।त्यसकारण मधेस बनाउन पहिला यहाँका बन्द कलकारखाना सञ्चालनमा ल्याउनुपर्छ ।"
राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसका समस्यालाई मध्यनजर गरेर समाधान गर्नका लागि आफ्नो योजना तयार पारेको जनाउँदै सभापति लामिछानेले एकपटक राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतको सरकार बने मधेससहित पूरा देशकै कायापटल गर्ने दाबी गर्नुभयो।
सभापति लामिछानेले भन्नुभयो, ‘‘एकपटक हाम्रो पार्टीको बहुमतको सरकार बन्नुपर्छ, मधेशसहित देशकै कायापलट गर्छौ। हाम्रो केही स्वार्थ छैन, त्यसकारण मधेशले अब सोचेर आफ्नो बाटो तय गर्नुपर्छ ।"
उहाँले राजनीतिकलाई आफूहरु पेशा बनाउँन नआएको बताउदै देशभित्रको भ्रष्टाचार र राजनीतिक रोटी सेक्नेहरुको हिसाब मिलाउनको लागि आफ्नो पार्टीको जन्म भएको बताउनुभयो।
सभापति लामिछानेले अहिले देशको अर्थतन्त्र नै डामाडोल रहेको र सबैतिर समस्यै समस्यै रहेकाले वीरगन्जको अर्थतन्त्र समस्याको चपेटामा परेको जनाउनुभयो।
आफूहरु अर्थतन्त्रलाई बलियो बनाएर अगाडि बढ्ने योजनाका साथ आएको बताउदै उहाँले उपस्थित सबैलाई साथ दिन अनुरोध गर्नुभएको थियो ।