अविनाश चौधरी
धनगढी, मङ्सिर ८ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा सुदूरपश्चिम महोत्सव तथा व्यापार मेला आयोजना हुने भएको छ ।
यहाँको व्यापार व्यवसायको प्रवद्र्धनका साथै कला, संस्कृति, पर्यटन सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सव आयोजना गर्न लागेको हो । १७ औं संस्करणको महोत्सव मङ्सिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुने आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।
महोत्सवमा कृषि, जडिबुटी, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक्स, सूचना प्रविधि लगायतको गरेर चार सय वटा स्टल रहने संघका अध्यक्ष पुष्पराज कुँवरले बताउनुभयो । उहाँले महोत्सव आयोजनामा दुई करोड खर्च हुने र महोत्सव अवधिभर १० करोड रुपियाँको कारोबार हुने अपेक्षा गरेको उल्लेख गर्नुभयो ।
करिब पाँच लाख दर्शकले महोत्सवको उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । यो महोत्सव सुदूरपश्चिम प्रदेशको आर्थिक विकासका लागि सम्भावनाको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, भाषाको संरक्षणमा कोसेढुङ्गा सावित हुने आयोजकले जानकारी दिएको छ ।
समृद्ध सुदूरपश्चिम बनाउने अभियानको रुपमा संघले २०६४ सालदेखि सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ ।