• २२ असार २०८१, शनिबार

धान काट्न हार्भेष्टर कुर्दै किसान

blog

हरि कोइराला

उर्लाबारी, मङ्सिर ८ गते । कृषि क्षेत्रमा काम गर्ने जनशक्ति धमाधम भारत पलायन भएपछि दक्षिण मोरङका किसान धान काट्न पालो कुरिरहेका छन् । कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै परम्परागत रुपमा कृषि मजदुरी गर्दै आएका तराई क्षेत्रका सन्थाल, ऋषिदेव, बाँतर जातिका युवा गाउँमा बस्न छोडेका छन् । 

वर्षभरि काम नपाउने भएपछि उनीहरू भारतको पञ्जाव र हरियाणा जाने गर्छन् । यता धान काट्ने समयमा कृषि मजदुर नहुँदा कानेपोखरी, सुनवर्सी, रङ्गेली र रतुवामाईका किसान हार्भेष्टर (धान काट्ने ठूलो यन्त्र) कुरेर बसेका छन् । मोरङको कानेपोखरी–३ मा तिहार लगत्तै दुई वटा हार्भेष्टर लिएर आउनु भएका चितवन टाडीका बिनोद चौधरी पालो लगाउँदै धान काटिरहनु भएको छ । प्रति घण्टा ७ हजारका दरले किसानको धान काटिरहनुभएका चौधरीले भन्नुभयो, किसानलाई तोरी लगाउन ढिलो भइसक्यो । डिजेल अभाव यही समयमा भयो । त्यसैले किसानको माग अनुसार काम गर्न सकेको छैन । 

सुरुमा स्थानीय हेमचन्द्र भण्डारीले बोलाएर धान कटाउन थालेपछि चौधरी कानेपोखरी–३ बाट उम्किन पाउनु भएको छैन । ५-६ दिनसम्मको पालो कुरेर बसिरहनुभएका मोहनप्रसाद पोख्रेलले भन्नुभयो, मानवीय श्रमभन्दा सस्तो र छिटो हुन्छ । तर धान खेतमै रहला भन्ने चिन्ता छ । उहाँले कृषि मजदुर नपाएको बेला हार्भेष्टर बरदान सावित भएको बताउनुभयो । 

कमला पौडेल, लीला कार्की, भरत राजवंशी, जगदिश राजवंशी मात्र होइन । पुरै गाउँका किसान धान काट्न पालो कुरिरहेका छन् । नवीन दाहालले भन्नुभयो, ७ दिनपछि बल्ल पालो आयो । बिहीबार खेतमा मेसिन पसेपछि मात्र दाहालको आँखामा निन्द्रा पर्यो । उहाँले भन्नुभयो, “खेतमा धान पाकेर पहेँलो भएको छ । काम गर्ने मान्छे छैन । अलिअलि भएका कृषि मजदुरलाई भ्याइनभ्याई छ ।” कृषिमा अर्ध प्रविधि भित्रिँदा किसानलाई झन मार परेको दाहालले बताउनुभयो । अब जोत्ने, रोप्ने धान काट्ने सबै प्रविधि सहज उपलब्ध भएन भने खेत बाँझै हुन्छन् । 

एकातिर कृषि क्षेत्रका कामदार नेपालमा काम पाईंदैन भनेर भारत पलायन भइरहेका छन् । अर्कोतर्फ धान भित्राउने समयमा कामदार नपाएर सङ्कट हुने गरेको छ । ५ विघा खेतको धान काट्न हार्भेष्टर भित्राउने हेमचन्द्र भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, "मैले मेरा लागि मेसिन बोलाएको थिएँ । तर उहाँले आफ्नो गाउँ (चितवन)का किसानको धान काटिदिन पाउनु भएन ।" दुई वटा मेसिन दिनभर चल्दा पनि अझै धान काटिसक्न ८-१० दिन लाग्ने मेसिन सञ्चालक चौधरीको भनाइ छ ।

चौधरीका अनुसार १ विघा धान काट्न मेसिनलाई एक घण्टा २० मिनेट लाग्छ । प्रति घण्टा १२ लिटर डिजेलले खाने हार्भेष्टरले काटेको धान एकै पटक खमारमा लगेर राख्न मिल्ने हुन्छ । काट्ने, सुक्न दिने, पाँजा सोर्ने, विटा लगाउने, खमारमा लाने, कुन्यू लगाउने लगायतका कुनै पनि काम गर्नु नपर्ने भएकोले किसान हार्भेष्टर मेसिन प्रति आकर्षित भएका छन्।  

उता रतुवामाइ ५ परेवाखोपीका किसान लीलानाथ श्रेष्ठले भन्नुभयो, "मैले मेरो खेती उठाउन ल्याएको सानो मेसिन गाउँभरि प्रयोग गरिरहेको छु । मानिसलाई धान उठाएर तोरी लगाउने हतारो छ। अधिकांश किसानको धान अझै खेत मै छ । जसका घरमा काम गर्ने मान्छे छन् ।" 

यस्तै, उहाँले उत्पादन बढेपनि जनशक्ति अभावले कृषि उत्पादन भित्राउन चुनौती बढेको समेत बताउनुभयो ।