• १३ मंसिर २०८१, बिहिबार

‘एकीकृत मोबाइल एप’ सुरु

blog

भावना जोशी 

अत्तरिया, मङ्सिर ८ गते । धनगढीका वडाहरुमा ‘एकीकृत मोबाइल एप’ सुरु भएको छ । जिआइजेटको सहयोगमा धनगढीका उपमहानगरपालका वडा नम्बर ३, ११, १६ र १८ मा एकीकृत मोबाइल एप सुरु भएको हो । 

एपमा स्थानीय सरकारबाट सम्प्रेषित सम्पूर्ण सूचनाको जानकारी, घरबाटै नगरवासीले आफ्नो समस्या तथा गुनासो सिधै जनप्रतिनिधीसँग राख्ने, आफ्ना व्यक्तिगत कागजातहरु अपलोड गरी भण्डारण गर्नसक्ने जिआइजेटका जीवन श्रेष्ठले बताउनुभयो । उहाँले पालिकाले कुनैपनि समयमा जो कोहीको लागि कागजातहरूको डिजिटल प्रतिलिपि उपलब्ध गराउन सकिने र पालिकाका सम्पूर्ण वेबसाइटको विवरणका बारेमा एकीकृत रूपमा जानकारी पाइने बताउनुभयो । 

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले पालिकालाई प्रविधिमैत्री बनाउन पहल भइरहेको बताउनुभयो । उपमहानगरबाट प्रवाह हुने सेवाका बारेमा सेवाग्राहीले घरबाटै जानकारी लिन सक्ने व्यवस्था गर्न लागेको हो । 

उपप्रमुख रानाले पालिकाबाट पाउने सेवासुविधाका बारेका जानकारी, पालिका र वडाबाट जारी गरिने सूचना र सेवा ग्राहीले सेवाका बारेमा गुनासो गर्नसक्ने गरी प्रविधिको विकास गर्न लागि परेको समेत बताउनुभयो ।