• ११ मंसिर २०८१, मङ्गलबार

जलस्रोतको दिगो उपयोगमा जोड

blog

काठमाडौँ, मङ्सिर ८ गते । नेपालले दिगो र उत्तरदायी किसिमबाट  जलस्रोतको उपयोग गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार काठमाडौँमा आयोजित जलविद्युत्को दिगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागीले जलविद्युत् क्षेत्रको दीर्घकालीन विकासका लागि पनि जिम्मेवारपूर्ण उपयोग आवश्यक रहेको धारणा राखेका हुन् । 

सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको जलविद्युत् सम्भाव्यताको अधिकतम उपयोगमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आगामी एक दशकभित्र सबै नागरिकलाई विद्युत्को पहुँचमा पु¥याउने सरकारको लक्ष्य रहेको उहाँले बताउनुभयो । आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको योजना रहेको उहाँले जानकारी दिनुभयो । 

सम्मेलनमा हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए) का उपकार्यकारी निर्देशक एलेन किलाजियानले ‘हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड’ लागु हुनुपर्ने बताउनुभयोे । यसले नेपालले दिगो र उत्तरदायी ढङ्गले जलस्रोतको उपयोग गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । शून्य उत्सर्जन लक्ष्य हासिल गर्दै जलविद्युत् विकासमा ध्यान केन्द्रित गर्नु महìवपूर्ण पक्ष रहेको उहाँले बताउनुभयो । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा जलविद्युत् विकासका क्षेत्रमा धेरै उपलब्धि हासिल भएको र यसमा सार्वजनिक निकाय र निजी क्षेत्र दुवैले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । बजारको खोजी गर्दा सरोकारवालाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा समान रूपमा ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । 

स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् विकासका लागि सार्वजनिक–निजी साझेदारीका लागि सरकार थप खुला हुनुपर्नेमा जोड दिनुभयो ।  अन्तर्राष्ट्रिय जलविद्युत् सङ्घका उपाध्यक्ष सुशील पोखरेलले इन्डोनेसियाको बालीमा सम्पन्न विश्व जलविद्युत् सम्मेलनले नेपाललाई आफ्नो उपलब्धि विश्वस्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताउनुभयो । 

विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले अहिले प्रचलित आम धारणाविपरीत नेपालमा बढी परिमाणमा विद्युत् उत्पादन गर्न सक्ने सम्भावना रहेको बताउनुभयो । 

उहाँले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने योजना भए पनि त्यस्तो विद्युत् कहाँ र कसरी निर्यात गर्ने भन्ने विषय बाँकी नै रहेको औँल्याउनुभएको थियो । 

कार्यक्रममा नेपाल हाइड्रोपावर एसोसिएसनका अध्यक्ष अरुण रजौरियाले जलवायु–लचिलो पूर्वाधार विकास र दिगो ऊर्जा समाधान दिगो विकासका लागि समग्र रूपमा आधारभूत आवश्यकता रहेको बताउनुभयो ।