• ११ मंसिर २०८१, मङ्गलबार

प्रदर्शक र निर्माताबिच सहमति

blog

काठमाडौँ, मङ्सिर ८ गते । नेपाल चलचित्र सङ्घ र नेपाल निर्माता सङ्घबिच सेयर बाँडफाँटको विषयमा सहमति भएको छ । चलचित्र प्रदर्शन भएपछि निर्माताहरूले पाउने सेयरको अंशमा सन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले गरेको चलचित्र नचलाउने अडानपछि भएको वार्तामा सहमति जुटेको हो । 

चलचित्र सङ्घका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । सहमति अनुसार चलचित्र ‘दिमाग खराब’ प्रदर्शन भएको मिति कात्तिक २४ गतेदेखि नै यो व्यवस्था लागु गर्न दुवै पक्ष सहमत भएको निर्माता रौनकविक्रम कँडेलले बताउनुभयो । सबै स्वदेशी चलचित्रले यो सुविधा पाउने उहाँको भनाइ छ । दुवै सङ्घबिच ५० प्रतिशत सेयर बाँडफाँट सहमति भएको छ । 

यसअघि सोही विषयलाई लिएर चलचित्र सङ्घमा दुई दिनसम्म वार्ता चलेको थियो । दुई दिन चलेको वार्तापछि दुवै संस्थाका वार्ता टोलीले जुटाएको सहमतिलाई कार्यसमितिले अनुमोदन गरेको थियो । सेयर बाँडफाँट मात्र नभएर अन्य महत्वपूर्ण मुद्दामा समेत सहमति भएको निर्माता कँडेलले बताउनुभयो ।