लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर ७ गते । नेपालको पूर्वी तराई भेगमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व ‘सामाचकेवा’ पर्व छठको एक दिनपूर्व गरिने खरना विधिको दिनबाट प्रारम्भ भएको छ ।
तराई मधेशमा छठपर्व आगमनसँगै चेलीबेटी र माइती पक्षबिच रहेको अटुट श्रद्धा एवं प्रेमको प्रतीक सामाचकेवा पर्व शनिबारबाट प्रारम्भ भएको हो । दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामनासहित गाउँदै खेल्दै रमाउँदै लोकपर्व कात्तिक शुक्ल पञ्चमी अर्थात् छठपर्वको खरनादेखि पूर्णिमाको दिनसम्म मनाइने गरिन्छ । नौदेखि ११ औँ दिनसम्म खेलिने उक्त पर्वमा चङ्गेरा, डलिया (बाँसले बनाइएको डालो) मा माटोेले बनाइएका रङ्गीचङ्गी सामाचकेवा, चुगलालगायतका आकृति बनाई दियो बालेर चोक वा टोल, गल्ली, सडकमा गएर प्रत्येक साँझदेखि मध्यरातसम्म सामा खेलिन्छ ।
सामा अधिकांश रूपमा गाइने गीतमध्ये ‘सामा खेले चलली सखी सँग सहेली हो.., साम चके साम चके अइहो हे जोतला खेत में बैसिहो है.., चुगला करे चुगलपन बिलैया करे म्याउँऊं, चुगला के फांसी देऊ’ जस्ता लोकगीत गाउँदै चुगलाको मूर्तिमा टाँसिएको दाह्री र जुँगालाई प्रत्येक दिन बलेको दियोमा डढाउँदै र त्यस चुगलाको प्रतिमालाई महिलाले कुटेपिटेझैँ गरी सामा खेल्दै यो पर्व मनाइने गरिन्छ ।
तराई मधेशको लोकपर्व मानिने सामा तराईका बजार क्षेत्रमा लुप्त हुँदै गए पनि गाउँघरतिर अझै पनि यसको महìव उत्तिकै रहेको जनकपुरधामस्थित माइतीघर आएकी मुन्नी सिंह बताउनुहुन्छ । “गाउँटोलमा हिजोआज सामाचकेवाको गीत गुन्जिँदा पुराना दिन सम्झना आउने गर्छ,” उहाँले भन्नुभयो ।
चेलीबेटी घरबाट डालामा माटोका मूर्ति, दियो बालेर एकै स्थानमा भेला भई सामाचकेवा खेल्ने मध्यरातमा विभिन्न चोक चौराहामा गएर खेलिने सामामा दाजुभाइका निम्ति दिदीबहिनीले लोकभाकामा गीत गाउँदै यस पर्वले मिथिलाको लोकसंस्कृतिलाई जोगाएर राखेको उहाँले बताउनुभयो ।
मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो; जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामाचकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको मानिँदै आएको छ ।
जनकपुरधाम–४ मा सामा खेल्दै गरेकी स्थानीय कञ्चन कर्ण सामामा खेलिने क्रममा गाइने लोकगीतले मिथिलाको भाषा संस्कृति तथा परम्परालाई जोगाउनुका साथै परम्परादेखि चल्दै आएको दाजुभाइ र दिदीबहिनीप्रतिको प्रेम दर्शाउने पर्वलाई जोगाएको बताउनुहुन्छ । उहाँले यो पर्वका लागि द्वितीया तिथिका दिनदेखि दिदीबहिनीले सामाचकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गर्दै छठपर्वको खरना वा पारणदेखि यस पर्वको क्रियाकलाप तीव्र रूपले चल्ने गरेको बताउनुभयो ।
दाजुभाइ र दिदीबहिनीको प्रेम मुख्य आधार मानिने यस पर्वले भाइबहिनीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्ने विश्वाससमेत रहँदै आएको मधेश प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी भ्रमरले बताउनुभयो । द्वापर युगदेखि चलिआएको सामाचकेवा पर्व केवल मिथिलाञ्चलमा मात्र होइन, आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्षोल्लास र लोकाचारका साथ मनाउने यस पर्वमा विशेष गरी नेपालका पूर्वी तराई भेगका थारू जनजातिले पनि विशेष उत्साहका साथ मनाउने गर्छन् ।
सामाचकेवा पर्व मुख्यतया चेलीबेटी र माइती पक्षका बिच रहेको अटुट श्रद्धा एवं प्रेमको प्रतीक मानिने यस पर्वमा गाइने भाकामा दाजुभाइका नाम उच्चारण गर्दै गीत गाउने यस पर्व खेलेको १० औँ वा ११ औँ दिन पूर्णिमाका तिथिमा नजिकैको पोखरी वा नदीमा सामाचखेवा भसाउने (विसर्जन) गरेपछि यो पर्व समापन हुने गर्छ ।
पद्म पुराण, स्कन्द पुराण र साम्ब पुराण जस्ता विभिन्न पुराणमा यो पर्वको सम्बन्धमा चर्चा गरिएको पाइन्छ । सामाचकेवा लोकपर्वको शुभारम्भ द्वापर युगमा भगवान् कृष्णको समयदेखि नै भएको मानिन्छ ।