काठमाडौँ, मङ्सिर ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मौसम परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सर्तकता अपनाउनु जरुरी भएको बताउनुभएको छ । राजधानीमा बुधबार एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता सङ्गठन इफाप्काको ४६ औँ सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भौतिक पूर्वाधारको विकाससँगै यससँग सम्बन्धित अन्य पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको हो ।
इफाप्कामा आबद्ध मुलुकहरू बढी मात्रामा मौसम परिवर्तनसँगै प्राकृतिक विपत्तिको सिकार भइरहेको अवस्थामा यस सङ्गठनले मौसम परिवर्तनको एजेन्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने राष्ट्रपति पौडेलेको भनाइ थियो । ‘पृथ्वी रहे मात्र हामी रहन्छौँ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि राष्ट्रपति पौडेलले सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रपति पौडेलले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले सङ्कटग्रस्त अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन निर्माण व्यवसायीबाट आफूले सकारात्मक भूमिकाको अपेक्षा राखेको औँल्याउनुभएको थियो ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इफाप्का सदस्य राष्ट्रबिचको सम्बन्ध विस्तारमा इफाप्काको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।
इफाप्काका अध्यक्षसमेत रहनुभएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानी वृद्धि गर्न इफाप्का आबद्ध मुलुकका प्रतिनिधिलाई आग्रह गर्नुभयो । महासङ्घका सल्लाहकार तथा इफाप्का महासचिव वीरेन्द्रराज पाण्डेले इफाप्कालाई गतिशील सङ्गठन बनाउन सदस्य राष्ट्रहरूको भूमिका अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो । कार्यक्रममा इफाप्काको परिचय झल्काउने भिडियो, नेपालको मौलिक संस्कृति झल्काउने झाँकीलगायतको प्रदर्शनी गरिएको थियो ।
शनिबारसम्म चल्ने सम्मेलनका विभिन्न फोरममा इफाप्का पदाधिकारीसहित पूर्वाधारविद् तथा सरोकारवालाबिच निर्माण उद्योगका विविध पाटोबारे घनीभूत छलफल भई काठमाडौँ घोषणापत्र जारी हुने महासङ्घका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । सम्मेलनकै अवधिमा निर्माण उद्योगमा योगदान गर्ने व्यवसायीलाई सम्मान गरिएको थियो । दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित सुरु भएको सम्मेलनमा विदेशका २४० सहित ४५० भन्दा बढीको सहभागिता रहेको छ । नेपालले यसअघि सन् १९९९ मा ३० औँ इफाप्का सम्मेलन आयोजना गरेको थियो ।