• १२ असोज २०८१, शनिबार

दक्षिण अफ्रिका सर्‍यो नेपालले खेल्ने यू–१९ विश्वकप क्रिकेट

blog

फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर ६ गते । यू–१९ विश्वकप क्रिकेट दक्षिण अफ्रिकामा हुने भएको छ । यसअघि श्रीलङ्कामा हुने तय भएको विश्वकप दक्षिण अफ्रिका सरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले श्रीलंकाको क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाएपछि प्रतियोगिता दक्षिण अफ्रिकामा सार्ने निर्णय गरेको हो । 

यू–१९ विश्वकप क्रिकेट सन् २०२४ जनवरी १३ देखी ४ फेब्रुअरीसम्म हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् । नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छ । 

समूह ‘बी’ मा इङ्ल्यान्ड, आयोजक दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । नेपालले आइसिसी एसिया छनोटमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएर विश्वकपमा स्थान बनाएको थियो ।