• १८ असार २०८१, मङ्गलबार

तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग स्तब्ध

blog

बल अगाडि बढाउने प्रयास गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी । तस्बिर : एपी/रासस

काठमाडौँ, मङ्सिर ६ गते । समर्थकबीच हानाहान र मैदानमा खेलाडीको तनावबीच सम्पन्न भएको खेलमा घरेलु टोली ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटको मङुगलबार राति भएको खेलमा अर्जेन्टिनाले १० खेलाडीमा सीमित ब्राजिललाई १–० गोलले स्तब्ध बनायो ।

महादेशीय छनोट खेलमा अर्जेन्टिनाको यो पाँचौं जित हो । अर्जेन्टिनाको जितमा निकोलास ओटामेन्डीले गोल गर्नुभयो । उहाँले ६३औँ मिनेटमा जिओभानी लो सेल्सोको कर्नर पासमा हेड गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभएको थियो ।

यसअघि दुबै टोलीका समर्थकबीच एक आपसमा झडप हुँदा खेल आधा घण्टा ढिला सुरु भएको थियो । ब्राजिलका समर्थकले अर्जेन्टिनाका समर्थकलाई हातपात गरेको भन्दै अर्जेन्टिना खेलाडीले समेत केही समय मैदान छाडेका थिए । दुई पक्षको झडप साम्य पार्न पुलिसले लाठीचार्जसमेत गरेको थियो । 


झगडा साम्य भएपछि पुनः सञ्चालन भएको खेलका ब्राजिलले गोलका लागि लगातार मौका बनाए पनि सदुपयोग गर्न सकेन । ब्राजिलको प्रयासमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेज बाधक बन्नुभयो । ८१औँ मिनेटमा ब्राजिल १० खेलाडीमा समेटिएको थियो । अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डि पाउललाई हातले हानेपछि ब्राजिलका जोइलिन्टन सिधै रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो । जितसँगै ६ खेलबाट १५ अङ्क बनाएको अर्जेन्टिना शीर्षस्थानमा छ । पराजित ब्राजिल सात अङ्कसहित छैटौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको उरुग्वेको १३ अङ्क छ । मङ्गलबार रातिनै भएको खेलमा उरुग्वेले बोलिसिभयालाई ३–० गोलले हराएको थियो ।एजेन्सी