• ६ माघ २०८१, आइतबार

हिरासत कक्षमा पुस्तकालय

blog

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापित पुस्तकालय तथा उद्घाटन गर्दै मधेश प्रदेश प्रहरी प्रमुख जनक भट्टराई । तस्विर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, मङ्सिर ६ गते । जिल्ला प्रहरी महोत्तरीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । हिरासत पुस्तकालयमा कथा, उपन्यास, जीवनी, विचार, सिद्धान्त, उत्प्रेरणा, इतिहास लगाएत विभिन्न विधाका ३९८ थान पुस्तक छन् । 

पुस्तक खरिदका लागि आवश्यक दुई लाख ५० हजार रुपियाँ जलेश्वर वडा नं २ का वडाध्यक्ष वरुण दाहालले सहयोग गर्नुभएको जिल्ला प्रहरीले जनाएको छ । मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बुधबार उद्घाटन गर्दै थुनुवाहरुको सोचविचार, आचरण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको बताउनुभयो । 

“पुस्तकहरुको अध्ययनले बौद्धिक विकासका साथै सोचमा सन्तुलन, आचरणमा परिवर्तन र एकाकीपन मेटन सहयोग पुग्ने भएकोले हिरासतमा पुस्तकालय स्थापना गरिएको हो," प्रदेश प्रहरी प्रमुख भट्टराईले भन्नुभयो । उहाँले हिरासत पुस्तकालयलाई थुनुवा रहेका महोत्तरीका इलाका प्रहरी कार्यालयहरुमा पनि विस्तार गर्न समन्वय भइरहेको जनाउनुभयो ।

उद्घाटनपछि थुनुवाहरुका लागि पुस्तकालय खुला गरिएको छ । जिल्ला प्रहरी महोत्तरीको हिरासत कक्षमा अहिले ५३ जना थुनुवा रहेको डिएसपी एवम् सूचना अधिकारी दिलीपकुमार गिरीले बताउनुभयो । 

गिरीका अनुसार मधेश प्रदेश प्रहरी र जिल्ला प्रहरी महोत्तरीवीच गत साउनमा सम्पन्न सम्झौताको बुँदा नं २५ अनुसार हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको हो ।पुस्तकालयका लागि आवश्यक र्‍य ाकहरु वडा नं ६ का वडाध्यक्ष रवीन्द्र साहले सहयोग गर्नु भएको जिल्ला प्रहरीले जनाएको छ ।