• ६ जेठ २०८१, आइतबार

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री दौड हुने

blog

फाइल फोटो ।

काठमाडौँ, मङ्सिर ५ गते । नेपाल पर्यटन बोर्ड र नेपालका लागि चिनियाँ राजदूतावास तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा मङ्सिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता हुनेभएको छ । पर्यटन बोर्डमा मङ्गलबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । 

चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र होटल एसोसिएसन पोखरा सहआयोजना रहेको (अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेसमा नेपाल र चीन मैत्रीपूर्ण सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिने प्रतियोगितामा नेपाली १० टिम र चीनका १० टिम सहभागी हुनेछन् । एउटा टिममा ३ जनाका दरले प्रतियोगितामा ६० जना सहभागी हुनेछन् । 

यसअघि सन् २०१९ मा पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड–१९ महामारीका कारण हुन सकेको थिएन । यो प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलाइन्स चार्टर उडान गरी खेलाडी, अफिसियल र अन्य पाहुना गरी एक सय चार जना चिनियाँ पर्यटक नोभेम्बर २३ मा पोखरा आउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले बताउनुभयो । 

उहाँले प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्ने बताउनुभयो । फेवाताल किनार बाराहीघाटबाट सुरु हुने प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तूप पुगेर फेवातालमा बोटिङ गरी फेरि बाराहीघाट आएर अन्त्य हुनेछ । उहाँले प्रतियोगिताले दुई देशका नागरिक र देशको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनायौँ, बनाइसकेपछि पहिलो पटक पनि ड्रागन बोट प्रतियोगिता गर्दा पहिलो चार्टर्ड फ्लाइट भएको थियो । यो बिचमा केही राजनीतिक व्यक्तित्वको आगमनमा भयो । तर अब यो पर्यटन प्रवर्द्धनका लागि दोस्रो चार्टर्ड फ्लाइट पोखरा हुँदैछ । हामीले रेगुलर फ्लाइट चलाउन नसकेको अवस्थामा पनि एउटा दुई वटा गरेर चार्टर्ड फ्लाइट ल्याउन सक्दा राम्रो हुन्छ । चीनको सहयोगमा नै पोखरा एयरपोर्टको निर्माण भएको हुनाले मलाई लाग्छ जति धेरै एक्टिभिटी गर्छौँ त्यति धेरै चार्टर्ड फ्लाइट बढाउन सकिन्छ । 

निरन्तर रूपमा लागिरहने हो भने प्रवर्द्धन हुन्छ । नोभेम्बर २३ मा दोस्रो चार्टर्ड फ्लाइट ल्याण्ड हुँदैछ, १०४ जना लिएर । सबै खालेले यो प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । दुई देशका नागरिक र देशको सम्बन्धलाई प्रगाढ बनाउने लक्ष्य हो ।’ नेपाल र चीनका खेलाडीबिच हुने मैत्रीपूर्ण प्रतिस्पर्धाका साथै व्यक्तिगत दौड प्रतियोगिता ३८ किलोमिटर, आम नागरिकका लागि पब्लिक इभेन्ट ५ किलोमिटर र विद्यार्थीका लागि ५ किलोमिटर दौड प्रतियोगिता पनि राखिएको छ ।

नेपाली र चिनियाँ धावकबिच हुने प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख ६० हजार रुपियाँ दोस्रोले २ लाख ८८ हजार रुपियाँ, तेस्रोले २ लाख १६ हजार रुपियाँ चौथो टिमले १ लाख ४४ हजार र पाँचौँ हुने टिमले २० हजार रुपियाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत स्पर्धामा पहिलोले १ लाख ४४ हजार, दोस्रोले १ लाख ८ हजार र तेस्रोले ५४ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।