• ५ जेठ २०८१, शनिबार

पर्यटन प्रवर्द्धन गर्न बाह्रमुले मेला

blog

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर ५ गते । पर्यटन प्रवर्द्धन गर्न बाह्रमुले मेला हुने भएको छ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ चित्रेमा अग्रजको सम्मान, कला संस्कृति जोगाउँदै 'पर्यटन प्रवर्द्धन गर्ने हाम्रो अभियान' भन्ने मूल नाराका साथ यही मङ्सिर ६ गतेबाट मेलाको आयोजना गरिएको बाह्रमुले युवा क्लबका अध्यक्ष रिजन विश्वकर्माले जानकारी दिनुभयो। 

"हरेक वर्ष हरिबोधिनी एकादशीको अवसरमा परापूर्वकालदेखि नै बाह्रमुले मन्दिर परिसरमा मेलाको आयोजना गरिँदै आइएको छ", उहाँले भन्नुभयो, "मेलामा बाह्रमुले देवीसँग भाकल गर्ने, फूलको डोली तान्ने, तोरण तान्ने, राती जागरम बस्ने, बत्ती बाल्ने, पशुपन्क्षीको बलि दिने पूजा गर्ने लगाएतको प्रचलन छ ।" 

त्यति गरेपछि आफूले सोचेको मनोकामना पुरा हुने जनविश्वास रहेको क्लबका अध्यक्ष विक बताउनुहुन्छ । "मेलामा छिमेकी जिल्ला चितवन र तनुहँदेखिका भक्तजनहरू बलि चढाउन र मेला हेर्न आउने गर्छन् । मेला हेर्न आउने ‘आन्तरिक तथा बाह्रय पर्यटकलाई यहाँका मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गराउँदै यहाँका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्न सकिन्छ", उहाँले भन्नुभयो, "पालिका र जिल्लामा अत्यधिक मात्रामा पर्यटकहरू भित्राउन सकिन्छ ।" 

सोही जनविश्वासलाई विभिन्न माध्यमबाट आम नागरिकहरूसम्म पुर्‍याउन सकियो भने एक ऐतिहासिक ठाउँको प्रचारप्रसारमा सहयोग पुग्ने स्थानीय कृष्ण बहादुर गुरुङको विश्वास रहेको छ । जुन ठाउँमा आएर भाकल गर्‍यो भने आफूले सोचेका आँटेको सबै मनोकाङ्क्षा पूरा हुने जनविश्वासलाई सबैसामु पुर्‍याएर यसको प्रचारप्रसारमा लाग्नु समग्र गोरखा जिल्लालाई फाइदा रहेको उहाँको भनाइ छ । मेला अवलोकन गर्न आउनेहरूको लागि गाउँपालिकामा उत्पादित स्थानीय परिकारहरू खाना पाइने आयोजक क्लबले जनाएको छ।

मेलामा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले उद्घाटन गर्ने कार्यक्रम छ भने स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा बेजोड प्रस्तुति दिइने क्लबले जनाएको छ ।