विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर २ गते। झापामा छठ पर्वका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल भारत सिमानामा रहेको मेची खोला किनार लगायतका झापाका अन्य रतुवा, कन्काई लगायतका खोलामा समेत घाट निर्माण भएका छन्।
नेपाल–भारतको सीमा नाकासँग जोडिएको मेची खोलामा दुई देशका नागरिकले वर्षौँदेखि छठपर्व मनाउँदै आएका छन्। दुवै किनारमा एक आपसमा सद्भाव साटासाट गर्दै दुई देशका नागरिकले छठ मनाउने गरेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाले छठस्थलमा सुरक्षा व्यवस्था पनि कडा गरेको जनाइएको छ।
आइतबार बेलुका अस्ताउँदो सूर्य र त्यसको भोलिपल्ट सोमबार बिहान उदाउँदो सूर्यलाई अध्र्य दिएर मनाइने तराईवासीको मुख्य चाड छठ पर्वमा अन्यलेसमेत सहभागिता जनाउने गरेका छन्। तराईवासीको मात्र नभएर पहाडी समुदायका व्रतालुहरूले समेत घाटमा गएर पूजाआजा गर्ने गरेका छन्।
साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदै आएको स्थानीय बताउँछन्। भद्रपुर ५ स्थित मेची खोला किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको डेढ किलोमिटरमा घाट निर्माण गरिएको छ।
मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाका अनुसार वर्षौँदेखि दुबैतर्फ सल्लाह गरेर व्यवस्थित रूपमा घाट निर्माण र अन्य व्यवस्थापकीय काम हुने गरेको छ। सरसफाइ, खानेपानीको व्यवस्थापन, साहयता कक्ष, सुरक्षा बिट, स्वयंसेवक परिचालनस्थल लगायतको व्यवस्थापन गरिएको छ।
नदी पूर्वपट्टिको भागमा भारतीय व्रतालु र पश्चिम पट्टीको भागमा नेपालका व्रतालुले खोलालाई सङ्गमस्थल बनाएर सूर्य भगवानको पूजा आराधना गर्ने परम्पराले दुई देशका नागरिकबिचको सौहार्दपूर्ण सम्बन्धलाई उजागर गरेको झाले जनाउनुभयो। केही वर्ष अघिसम्म पुल नहुँदा बाँसको अस्थायी पुल बनाउँदा धेरै नै समस्या भए पनि केही वर्ष यता भने सहज रहेको छ।
दमकको रतुवा खोला, कमल र गौरीगन्ज पालिकामा गेउरीया खोला लगायतमा पनि छठको लागि आवश्यक तयारी भएको छ।