• १५ मंसिर २०८१, शनिबार

पैदलयात्री कँडेललाई नवलपुरमा स्वागत

blog

मेची महाकाली यात्रामा निस्किनुभएका नित्यानन्द शर्मा कँडेललाई कावासोतीमा स्वागत गर्दै।

मीना कंडेल

कावासोती, मंसिर २ गते। मेची महाकाली यात्रामा निस्किनुभएका नित्यानन्द शर्मा कँडेल शनिबार नवलपुरको कावासोती आइपुग्नुभएको छ। गत कार्तिक ८ गतेदेखि यात्रा सुरु गर्नुभएका नित्यानन्द २५ औँ दिनमा कावासोतीमा आउनुभएको हो।  कावासोतीमा स्थानीयले स्वागत गरेका थिए। 

मेची-महाकाली पैदलयात्रा २०८० नामको सो यात्रा मेचीनगरबाट सुरु भएर महाकालीमा समापन हुने कँडेलले बताउनुभयो। नेपाल सरकार समक्ष चार बुँदे माग राख्दै दबाब दिनको लागि यात्रामा निस्किएको उहाँको भनाइ छ।

नेपाल एक कृषि प्रधान देश भएकाले नेपाललाई कृषिको माध्यमबाट आत्मनिर्भर बनाउने, देशका राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिले स्वदेशमा उत्पादित र निर्मित पोसाक अनिवार्य लगाउनुपर्ने, राष्ट्रियता, राष्ट्रिय संस्कार तथा सांस्कृतिक संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नुपर्ने र विदेशी मदिरा लगायत अन्य विलासिताका वस्तुहरू आयातमा प्रतिस्थापन गर्नुपर्ने जस्ता मागसहित पैदलयात्रामा निस्केको कँडेलले बताउनुभयो।

बागमती नगरपालिका ११ पुतलीचोक, सर्लाही निवासी नित्यानन्दले आफ्नो चार बुँदे मागमा सुनुवाइ हुनेमा विश्वस्त रहँदै विभिन्न ठाउँमा स्थानीयले गरेको सहयोगले खुसीलागेको बताउनुभयो। उहाँ कावासोतीबाट पश्चिमको यात्रा तय गर्नुभएको छ।